दैनिक उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि, अनुगमन गर्नुपर्नेहरू चुनाव गराउन लागे

<p>काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा वृद्धि भएको छ । बजारमा अनियन्त्रित रुपमा मूल्य बढे पनि बजार अनुगमनको जिम्मेवारी पाएका निकायका प्रमुखहरू चुनावमा केन्द्रित हुँदा बजार अनुगमन हुन सकेको छैन । नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । संघका महासचिव अमुलकाजी तुलाधर पछिल्लो समय [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा वृद्धि भएको छ । बजारमा अनियन्त्रित रुपमा मूल्य बढे पनि बजार अनुगमनको जिम्मेवारी पाएका निकायका प्रमुखहरू चुनावमा केन्द्रित हुँदा बजार अनुगमन हुन सकेको छैन ।

नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । संघका महासचिव अमुलकाजी तुलाधर पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा बढेको बताउँछन् । मूल्य बढाउने बहाना भने रुस_युक्रेनको युद्धलाई देखाउने गरेका उनले बताए ।

‘रुस र युक्रेनको युद्धलाई देखाउँदै ठूला उद्योगी तथा व्यवसायीले खाद्यान्नलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढाए, अहिले राष्ट्र बैंकको कडाइ भन्दै फेरि बढाउन थालेका छन्,’ उनले भने ।

होलसेल तथा उद्योगबाट नै मूल्य बढेर आएपछि खुद्रा व्यापारीसँग बढेको मूल्यमा नै सामान बेच्नुको विकल्प नभएको उनको भनाइ छ ।

नेपाला राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको देखाउँदै विभिन्न वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि मूल्य वृद्धिमा थप सहयोग पुगेको उनको भनाइ छ ।

यही समयमा बजार अनुमगनको जिम्मा पाएको नियकाका अधिकारीहरू भने आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीमा खटिएका छन् ।

बजार अनुगमन तथा नियन्त्रणको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशकविहीन बनेको छ ।

पछिल्लो सयम रुस–युक्रेन युद्ध तथा नेपाल राष्ट्र बैंकले अतिआवश्यक वस्तुको आयातमा कडाइ गरेपछि उपभोक्ता बजार असन्तुलित बनेको छ ।

विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै सरकारले आयातमा कडाइ गरेको असर दैनिक उपभोग्य वस्तुमा देखिन थालेको हो । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले अतिआवश्यक बाहेकका वस्तु आयातको एलसी बन्द गरिसकेका छन् ।

सरकारले अतिआवश्यक वस्तुको सूची सार्वजनिक नगरी आयातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर बजारमा देखिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमिल्सिनाले पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको बताए ।

‘रुस युक्रेन युद्ध र राष्ट्र बैंकले आयातमा कडाए गरेको असर बजारमा देखिएको छ, अहिले अधिकांश वस्तुको मूल्य बढेको छ, ठूला व्यावसायिक घरानाका व्यवसायीलाई मूल्य बढाउने बहाना थपिएको छ, सरकारी अनुगमन बन्द जस्तै बन्यो, वाणिज्य विभागका कर्मचारीलाई स्थानीय चुनाव लागिसक्यो, प्रभावकारी अनुगमन नहुँदा बजार अस्तव्यस्त बन्यो,’ उनले भने ।

विभागका निर्देशक चुनावमा

अधिकांश वस्तुको मूल्य बढेर बजार अस्तव्यस्त बनिसकेको बेलामा वाणिज्य विभाग अनुगमन शाखाका निर्देशक हरि पंगेनी स्थानीय तह निर्वाचनमा गएका छन् ।

सरकारले निर्देशन अनुसार बैशाख १ गतेदेखि नै आफू स्थानीय तह निर्वाचनमा खटिएको उनले बताए ।

‘हामी विभागमा रहेका ५ निर्देशकमध्ये ४ जना विभाग बाहिर छौँ,’ उनले भने । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेल नियमित रुपमा बजार अनुगमन भैरहेको दाबी गर्छन् ।

‘हामी निरन्तर बजार अनुगमनमा छौँ, विभागका अधिकांश निर्देशक तथा कर्मचारीहरू चुनावका लागि गएका छौं, भएका जनशक्तिको प्रयोग गरी हामीले दैनिक अनुगमन गरिरहेका छौं,’ पौडेलले भने ।

उनका अनुसार विभागले पछिल्लो समय छड तथा खाना पकाउने एलपी ग्यास केन्द्रित अनुगमन गर्ने गरेको छ ।

‘अहिले छड व्यवसायीले आफूखुशी मूल्य बढाएको तथा ग्यास व्यवसायीले एलपी ग्याँस लुकाएको भन्ने विभागमा गुनासो आएको छ, विभागमा आएको गुनासोलाई माध्यम बनाएर हामीले अनुगमन गर्न थालेका हौं’, उनले भने ।

Share News