
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १५० मिलियन अमेरिकी डलर अर्थात करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
उनले मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएका हुन् ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै, मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।