काठमाडौं । आज वैशाख १ गते अर्थात् नयाँ वर्ष २०७९ सालको पहिलो दिन । नयाँ वर्षबाट नयाँ व्यवसाय सुरु गर्ने तथा भएका व्यापार व्यवसायलाई थप विस्तार गर्ने उद्योगी तथा व्यवसायीको योजना हुन्छ । कोही नयाँ काम गर्न नयाँ वर्ष कुर्ने वा कोही शुभ दिनको पर्खाइमा बस्नेहरूका लागि शुभ दिन हो ।
विगतका वर्षहरूमा कतिपय उद्योगी व्यवसायीहरूले नयाँ लगानी गरेर व्यवसाय सुरु गर्थे भने कतिपयले भएकै उद्योग व्यवसायमा लगानी थप गर्थे । तर, विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भने पछिल्लो एक/दुई वर्षमा थप लगानी गर्ने उद्योगी व्यवसायीको संख्या घटेको देखिन्छ ।
पछिल्लो समय कोरोना भाइरसको त्रास घट्दै गए पनि बैंकिङ प्रणालीमा तरलताको अभाव हुँदा उद्योगी व्यवसायीहरूलाई व्यवसाय विस्तार गर्न नै समस्या भएको धारणा राखेका छन् । नयाँ वर्ष २०७९ नयाँ उत्साहसँगै भित्रिए पनि व्यवसायी उद्योगीहरू भने नयाँ व्यवसायका लागि लगानी गर्न वा भएकै व्यापार व्यवसाय तथा उद्योगमा लगानी थप गर्न बैंकबाट ऋण नपाइरहेको अवस्था छ ।
नयाँ वर्ष २०७९ सुरु भए पनि पोखराका व्यवसायी भने खासै उत्साहित नभएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला बताउँछन् । कोरोना महामारीमा केही कमी भएपछि तरलता अभाव हुँदा व्यवसाय विस्तार गर्न समस्या भएको उनको भनाइ छ ।
‘बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न रोके, केहीले लगानी गरिहाले पनि कर्जाको ब्याज महँगो छ, व्यवसायीलाई व्यवसाय जोगाउनै चुनौती छ’, उनले भने, ‘लगानी विस्तार तथा नयाँ व्यवसाय सुरु गर्नुभन्दा पनि अहिले चलिरहेका व्यवसायलाई जोगाउनु नै पोखराका व्यवसायीहरूको चुनौती हो ।’
उनका अनुसार पोखराका व्यवसायीहरूले भएको व्यवसायलाई जोगाउँदै अगाडि बढ्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
‘नयाँ वर्षका लागि पोखरा भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ, कोभिड–१९ले थला परेको पोखराका व्यवसायीमा केही उत्साह थपिएको छ’, उनले भने, ‘स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै कोरोना अघिकै अवस्थामा व्यवसायलाई ल्याउन पोखराका व्यवसायी केन्द्रित छन् ।’
पर्यटकहरू भित्रन थालेपछि व्यवसायमा केही राहत हुने अपेक्षा पोखराका व्यवसायीहरूले गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुमले व्यवसायीमा नयाँ वर्षमा खासै उत्साह नदेखिएको बताए । उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आयातमा कडाइ गर्नेदेखि ऋण प्रवाह रोक्दा व्यवसायीमा समस्या सिर्जना भएको बताए ।
‘यसअघिका नयाँ वर्षको अवसर हामी व्यवसायीहरूले नयाँ व्यवसाय थप गर्ने र भएको व्यवसायलाई विस्तार गर्ने खालका विभिन्न योजना बनाएका हुन्थ्यौं, कोरोना महामारी कम भएपछि लगानी विस्तार तथा थप नयाँ व्यवसायी आउनुपर्नेमा अहिले त्यस्तो अवस्था छैन्, नयाँ लगानी विस्तारभन्दा पनि भएको व्यवसायलाई टिकाउन व्यवसायीलाई चुनौती छ,’ उनले भने ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता कोरोनाका कारण व्यवसायीको मोरल डाउन भएको बताउँछन् । ‘उद्योग तथा व्यवसायमा हुने नियमित खर्च भइराखेको छ, आम्दानी न्यून छ, कोरोना महामारीसँगै अहिलेको तरलता अभावका कारण हामी व्यवसायीमा धेरै समस्या थपियो’, उनले भने ।
उनले नयाँ व्यवसायभन्दा पनि भएको व्यवसाय जोगाउन व्यवसायीलाई धौधौ परेको बताए । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ तरलता अभावका कारण चितवनका उद्योगीले लगानी विस्तार गर्न नपाएको बताउँछन् ।
‘करिब तीन वर्षदेखि कोरोना महमारीले असर गर्यो, कोरोनाको असर केही कम भएपछि लगानी विस्तार गर्ने तथा नयाँ लगानी गर्ने तयारीमा रहेका व्यवसायीमा तरलता अभावको समस्या थपिएको छ’, उनले भने, ‘विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै नेपाल राष्ट्र बैंकले एलसी खोल्न बन्ददेखि बैंक तथा वित्तीय संस्थालाई लगानीमा कडाइसम्म गरेपछि त्यसको प्रत्यक्ष असर व्यवसायीमा देखियो ।’
अध्यक्ष श्रेष्ठले व्यवसायी तथा उपभोक्ता खर्च गर्नभन्दा पनि सञ्चित गर्न केन्द्रित हुन थालेको बताए । उनका अनुसार राष्ट्र बैंकले एलसी खोल्न बन्द गरेपछि व्यवसायी तथा उपभोक्तामा देशको अर्थतन्त्र कमजोर नै बनेको हो कि भन्ने क्रास उत्पन्न भएको छ ।