काठमाडौं । वाणिज्य बैंकहरूले विभिन्न कम्पनीहरूमा लगानी बढाएका छन् । ‘कोर बैंकिङ’सँगै वाणिज्य बैंकहरूले बीमा, लघुवित्त तथा मर्चेन्ट बैंकहरूमा प्रमोटर सेयरका रुपमा लगानी बढाएका हुन् ।
बैंकहरूको गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनका अनुसार २७ वटा वाणिज्य बैंकहरूले विभिन्न ९९ वटा कम्पनीहरूमा १० अर्ब ५५ करोड ३७ लाख ५५ हजार रुपैयाँ लगानी गरेका छन् ।
२७ वटा वाणिज्य बैंकहरूमा सबैभन्दा बढी कम्पनीमा लगानी गर्ने बैंक ग्लोबल आईएमई बैंक छ । ग्लोबल आईएमई बैंकले १३ वटा कम्पनीमा लगानी गरेको छ भने नेपाल बैंकले पनि विभिन्न १२ वटा कम्पनीमा लगानी गरेको छ ।
हिमालयन बैंकले ६ वटा कम्पनीहरूमा कूल १ अर्ब ७६ करोड ३४ लाख ५९ हजार रुपैयाँ लगानी गरेको छ । जुन सबैभन्दा बढी हो । यस्तै, एनआईसी एसिया बैंकले ३ वटा कम्पनीमा एक अर्ब २६ लाख ४५ हजार रुपैयाँ प्रमोटर सेयरका रुपमा लगानी गरेको देखिएको छ । बैंकहरूले गरेको यो सबै प्रमोटर सेयरमात्रै हो । साधारण सेयरको लगानी भने यसमा उल्लेख गरिएको छैन ।
कुन बैंकको लगानी कति ?
मेगा बैंक
मेगा बैंकले तीन वटा कम्पनीमा प्रमोटर सेयरका रुपमा लगानी गरेको छ । बैंकले तीनवटा कम्पनीमा २४ करोड ४९ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ । बैंकले मेगा क्यापिटलमा शतप्रतिशत अर्थात् २० करोड, स्पर्श लघुवित्तमा १६.३९ प्रतिशत र अभियान लघुवित्तमा १६.३९ प्रतिशत लगानी गरेको छ । यी दुई कम्पनीमा बैंकले चार करोड ४९ लाख ४० हजार रुपैयाँ लगानी गरेको देखिएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
यस बैंकले विभिन्न चार वटा कम्पनीमा कूल १२ करोड ६० लाख ९६ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले आरएमडीसी लघुवित्त, ग्रामिण विकास लघुवित्त, कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ हाउसमा लगानी गरेको छ । यसका साथै बैंकले विभिन्न कम्पनीको साधारण सेयर तथा ऋणपत्रमा पनि लगानी गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले सातवटा कम्पनीमा प्रमोटर सेयरका रुपमा लगानी गरेको छ । बैंकले सातवटा कम्पनीमा ४६ करोड ८२ लाख १७ हजार रुपैयाँ लगानी गरेको हो ।
बैंकले आरवीवी मर्चेन्टमा शतप्रतिशत, एभरेष्ट फुडमा ५७ प्रतिशत, सनराइज क्यापिटल, बुटवल सुतिधागो उद्योगमा २० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तमा ३१.४३ प्रतिशत, हिमाल सिमेन्टमा ८०.९० प्रतिशत र नेपाल डिजिटल पेमेन्टमा ३७.७८ प्रतिशत लगानी गरेको छ ।
यस्तै, बैंकले नेपाल ल्युब आयल, हिमालयन रिइन्स्यारेन्स, विभिन्न बीमा कम्पनी, डिजिटल वालेटहरू, लघुवित्त, सरकारी संस्थान र विभिन्न फण्डहरूमा साधारण सेयरका रुपमा पनि लगानी गरेको छ । बैंकले विभिन्न कम्पनीहरूमा न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५० करोड रुपैयाँसम्म लगानी गरेको देखिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
यस बैंकले चारवटा कम्पनीमा लगानी गरेको छ । बैंकले ती कम्पनीहरूमा कूल ३६ करोड ५६ लाख ८५ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले एनआईबीएल एस क्यापिटलमा १७ करोड १५ लाख अर्थात् शतप्रतिशत लगानी गरेको छ । नेश्नल लघुवित्त वित्तीय संस्थामा १९ प्रतिशत अर्थात् १८ करोड ६६ लाख ४९ हजार, एम नेपाल लिमिटेडमा ४९ प्रतिशत अर्थात एक करोड ३४ लाख ७८ हजार र फ्लेक्जिटर्म ४३ प्रतिशत अर्थात ७५ लाख ३६ हजार रुपैयाँ लगानी गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले पनि विभिन्न १२ वटा कम्पनीमा लगानी गरेको छ । बैंकले १२ वटा कम्पनीमा ३९ करोड ५६ लाख ३६ हजार रुपैयाँ लगानी गरे पनि सो लागतको अहिले कूल तीन अर्ब ४९ करोड ५८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकले राष्ट्रिय बीमा कम्पनी, विभिन्न लघुवित्त, विभिन्न बीमा कम्पनीहरू, गोरखाली रबर उद्योग, नेपाल आयल निगम लगायत संस्थान र विभिन्न बैंकहरूको म्युचुअल फण्डमा लगानी गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पनि ९ वटा कम्पनीमा लगानी गरेको छ । बैंकले ती कम्पनीहरूमा कूल १४ करोड ५९ लाख १० हजार रुपैयाँ लगानी गरेको छ । बैंकले विभिन्न लघुवित्त, होटल, नेपाल बैंकिङ इन्सिच्युट, कर्जा सूचना केन्द्र, नेपाल क्लियरिङ हाउसलगायत कम्पनीमा लगानी गरेको छ ।
नबिल बैंक
नबिल बैंकले तीन कम्पनीमा लगानी गरेको छ । बैंकले तीनवटा कम्पनीमा ३१ करोड १२ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । बैंकले नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, सिजि फिन्को र नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा लगानी गरेको छ ।
बैंकको नबिल ईन्भेष्टमेन्ट बैंकिङमा ५२ प्रतिशत अर्थात १० करोड ४० लाख र नाडेप लघुवित्त वित्तीय संस्थामा २५ प्रतिशत अर्थात १० करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । नबिल बैंकले सिजि फिन्कोमा ९ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।
सानिमा बैंक
यस बैंकले सानिमा क्यापिटल लिमिटेडमा लगानी गरेको छ । बैंकले सानिमा क्यापिटलमा शतप्रतिशत अर्थात २५ करोड रुपैयाँ लगानी गरेको छ ।
ग्लोबल आईएमई बैंक
यस बैंकले विभिन्न १३ वटा कम्पनीहरूमा प्रोटर सेयरका रुपमा ८६ करोड ९१ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको साहयक कम्पनी ग्लोबल आईएमई क्यापिटल, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, र जेबीएनएल सेक्युरिटिजमा कूल २२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै, अन्य कम्पनीहरू फर्ष्ट लघुवित्त, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, आइएमइ लाईफ कम्पनी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ्m इन्स्योरेन्स, नेपाल क्लियरिङ्ग हाउस, स्मार्टचोइस ट्क्नोलोजी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम, बैकिङ्ग फाइनान्स एन्ड इन्सुरेन्स इन्सटीच्युटमा लगानी गरेको देखिएको छ । यी कम्पनीहरूमा बैंकले ६४ करोड ४१ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले ६ वटा कम्पनीहरूमा कूल एक अर्ब ७६ करोड ३४ लाख ५९ हजार रुपैयाँभन्दा बढी लगानी गरेको छ । बैंकले विभिन्न बीमा, लघुवित्तलगायत कम्पनीहरूमा लगानी गरेको हो । यस बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान वित्तीय संस्था, छिमेकी लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, स्मार्टच्वाइस टेक्नोलोजीलगायत कम्पनीमा लगानी गरेको छ । कम्पनीले विभिन्न कम्पनीको साधारण सेयरमा पनि लगानी गरेको छ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको तीन कम्पनीहरूमा लगानी गरेका छन् । बैंकले यी तीन कम्पनीमा एक अर्ब २६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एन आई सी एशिया सेक्युरिटिज् लिमिटेडमा बैंकको लगानी छ । एनआईसी एशिया सेक्युरिटीज लिमिटेडको कारोबार सुरु भएको छैन । बैंकको एनआईसी एशिया क्यापिटल लिमिटेड र एनआईसी एसिया सेक्युरिटिज् लिमिटेड बैंकको पूर्ण स्वामित्व छ भने एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा बैंकको ५७.७५ प्रतिशत स्वामित्व छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्थामा लगानी गरेको छ । बैंकले यी दुई कम्पनीमा ५९ करोड रुपैयाँ लगानी गरेको छ बैंकको लक्ष्मी लघुवित्त वित्तीय संस्थामा ७० प्रतिशत शेयर स्वमित्व अर्थात् २२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । बैंकका अनुसार सहायक कम्पनीहरूका अतिरिक्त बैंकले अन्य विभिन्न संगठित संस्थाहरूका साथै जीवन तथा निर्जीवन बीमा कम्पनी तथा सामूहिक लगानी कोष जस्ता विविध वित्तीय क्षेत्रहरूमा शेयर लगानी गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आफ्नो साहयक कम्पनी सिद्धार्थ क्यापिटलमा पाँच करोड १० लाख रुपैयाँ लगानी गरेको छ । यो कम्पनीमा बैंकले ५१ प्रतिशत मात्रै लगानी गरेको छ । बैंकले प्रमोटरका रुपमा अन्य कम्पनीमा भने लगानी गरेको छ । विभिन्न कम्पनीको धितोपत्र सेयरमा भन बैंकले धेरै लगानी गरेको छ ।
प्रभु बैंक
यस बैंकले प्रभु क्यापिटल र प्रभु स्टक मार्केटमा लगानी गरेको छ । बैंकको प्रभु मार्केटमा पूर्ण स्वामित्व र प्रभु क्यापिटलमा ५१ प्रतिशत लगानी छ । बैंकले दुई कम्पनीमा ५२ करोड ४२ लाख २९ हजार रुपैयाँ लगानी गरेको छ ।
माछापुच्छ्रे बैंक
यस बैंकले एउटा सहायक कम्पनीमा मात्रै लगानी गरेको छ । बैंकले माछापुच्छ्रे कृति क्यापिटलमा २६ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले बिओके क्यापिटलमा लगानी गरेको छ । प्रमोटर सेयरका रुपमा बैंकको यो एउटा मात्रै लगानी हो । यस कम्पनीमा बैंकको १४ करोड रुपैयाँ लगानी छ । यस कम्पनीमा बैंकको ६६.६६ प्रतिशत लगानी छ ।
एनएमबी बैंक
यस बैंकको सहायक कम्पनीका रुपमा एनएमबी क्यापिटल र एनएमबी लघुवित्तहरू रहेका छन् । यी दुवै कम्पनीमा ४७ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको क्यापिटललमा २० करोड र लघुवित्तमा ५१ प्रतिशत अर्थात २७ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले विभिन्न तीन कम्पनीहरूमा चार करोड ६० लाख २३ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले मेरो माइक्रोफाइनान्स, महिला सहयात्रा लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थामा लगानी गरेको छ । बैंकले मेरो माइक्रोफाइनान्समा ७ प्रतिशत, स्वाभिमानमा १५.५५ प्रतिशत लगानी गरेको देखिएको छ ।
सनराइज बैंक
सनराइज बैंकले सनराइज क्यापिटलमा शतप्रतिशत लगानी गरेको छ । बैंकले सो कम्पनीमा २६ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । यस बाहेक कम्पनीले विभिन्न कम्पनीको सेयरमा पनि लगानी गरेको छ ।
एनसीसी बैंक
बैंकको साधना लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्तमा लगानी छ । यी दुई कम्पनीमा बैंकको ३७ करोड ६५ लाख ७२ हजार रुपैयाँ लगानी गरेको छ । अन्य बैंक तथा वित्तीय संस्था तथा कम्पनीहरूको धितोपत्रमा पनि बैंकले लगानी गरेको छ ।
सिटिजन्स बैंक
बैंकको सहायक कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल क्यापिटल र सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजमा लगानी गरेको छ । दुई कम्पनीमा बैंक्ले कुल १६ करोड ७२ लाख ४ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले क्यापिटलमा ५८.६० प्रतिशत अर्थात ११ करोड ७२ लाख ४ हजार रुपैयाँ र सेक्युरिटिजमा शतप्रतिशत अर्थात पाँच करोड रुपैयाँ लगानी गरेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा लगानी गरेको छ । यस कम्पनीमा बैंकले शतप्रतिशत अर्थात २० करोड रुपैयाँ लगानी गरेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले तीन वटा कम्पनीमा लगानी गरेको छ । बैंकले ३ कम्पनीमा कूल १० करोड १४ लाख ६५ हजार रुपैयाँ लगानी गरेको छ । बैंकले गोबर ग्यास कम्पनीमा ८३.९६ प्रतिशत अर्थात ३२ लाख ४१ हजार, कोष व्यवस्थापन कम्पनीमा ९२.८९ प्रतिशत अर्थात दुई करोड ८८ लाख ४० हजार रुपैयाँ, साना किसान लघुवित्त वित्तीय संस्थामा २२ प्रतिशत अर्थात ६ करोड ९३ लाख ८४ हजार रुपैयाँ लगानी गरेको छ ।
नेपाल बंगलादेश बैंक
बैंक दुई कम्पनीमा लगानी गरेको छ । नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंक सेक्युरिटिजमा बैंकको लगानी रहेको छ । दुवै कम्पनीमा बैंकको शतप्रतिशत अर्थात कूल २२ करोड रुपैयाँ लगानी छ ।
कुमारी बैंक
कुमारी बैंकले सातवटा कम्पनीमा ३६ करोड ९२ लाख ३३ हजार रुपैयाँ लगानी गरेको छ । बैंक्ले कुमारी क्यापिटल, कुमारी सेक्युरिटिजमा शतप्रतिशत लगानी गरेको छ । बैंकले नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, फस्ट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, मेरो माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्थामा लगानी गरेको छ ।
सेञ्चुरी बैंक
बैंकले दुई कम्पनीमा १९ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । बैंकले आफ्नो सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा ८५.७५ प्रतिशत अर्थात १७ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, बैंकले किसान लघुवित्त वित्तीय संस्थामा पनि ७ प्रतिशत अर्थात दुई करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।
सिभिल बैंक
सिभिल बैंकले दुई कम्पनीमा २६ करोड रुपैयाँमा लगानी गरेको छ । बैंकले सिभिल लघुवित्तमा ५१ प्रतिशत अर्थात १० करोड रुपैयाँ र सिभिल क्यापिटल मार्केटमा ६९.७४ प्रतिशत अर्थात १५ करोड आठ लाख रुपैयाँ लगानी गरेको छ ।
