व्यवसायीले रोके पेट्रोलियम पदार्थको ढुवानी, बजारमा अभाव हुनसक्ने

<p>काठमाडौं । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै आन्दोलित बनेका व्यवसायीहरूले शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् । पछिल्लो समय इन्डियल आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो । पेट्रोलियम पदार्थको मूल्य बढाएर बिक्रेतालाई दिइने कमिशन रोकेको भन्दै व्यवसायीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै आन्दोलित बनेका व्यवसायीहरूले शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् ।

पछिल्लो समय इन्डियल आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढाएर बिक्रेतालाई दिइने कमिशन रोकेको भन्दै व्यवसायीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलन स्वरुप व्यवसायीले शुक्रबार देशभर पेट्रोलियम पदार्थको ढुवानी रोकेका हुन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान आयल निगमले व्यवसायीलाई वेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउँछन् ।

नेपाल आयल निगम तथा व्यवसायीको विवादका कारण बजारमा खाना पकाउने एलपी ग्याँसदेखि पेट्रोलियम पदार्थसम्म अभाव सिर्जना हुने देखिएको छ ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव विश्व अर्याल व्यवसायीको माग सम्बोधन नहुँदासम्म निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोड/अनलोड रोकिने बताउँछन् । उनले आयल निगमले व्यवसायीको माग सम्बोधन गर्न नयार नभएपछि विरोध स्वरुप ढुवानी नै रोक्नुपरेको बताए ।

निजी क्षेत्रका व्यवसायीले इन्धन नउठाए पनि नेपाली सेना, नेपाल प्रहरी, साझा र साल्ट ट्रेनिङ कर्पाेरेशनबाट भने नियमित रुपमा ढुवानी भइरहेको निगमले जनाएको छ ।

निजी क्षेत्रका पम्पले निगमको थानकोट डिपोबाट दैनिक ४ हजार किलोलिटर पेट्रोल र ८ हजार किलोलिटर डिजेल खरिद गर्ने गरेका थिए ।

शुक्रबार निगमको डिपोबाट ढुवानी रोकेका व्यवसायीहरूले शनिबार रातको १२ बजेदेखि देशभर सञ्चालित पेट्रोलपम्पहरू बन्द गर्ने चेतावनी दिएका छन् । शनिबारसम्म निगमले हाम्रो माग सम्बोधनमा चासो नदेखाए रातिदेखि नै पम्पहरू बन्द हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

आन्दोलन स्वरुप ग्याँस उद्योगीले एलपी ग्याँसको ढुवानी रोक्दा बजारमा ग्याँसको अभाव देखिन थालेको छ ।

Share News