निगमले कमिसन नबढाएपछि उद्योगीले रोके ग्याँसको आयात, बजारमा अभाव

<p>काठमाडौं । बजारमा ग्याँसको अभाव देखिएको छ । उद्योगीहरूले ग्याँसको आयत रोकेपछि बजारमा ग्याँसको अभाव देखिएको हो । नेपाल आयल निगम, ग्याँस तथा पेट्रोल बिक्रेताबीच कमिसनमा कुरा नमिल्दा बजारमा खाना पकाउने एलपी ग्याँसको अभाव सिर्जना भएको हो । पछिल्लो समय इन्डियन आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने [&hellip;]</p>

काठमाडौं । बजारमा ग्याँसको अभाव देखिएको छ । उद्योगीहरूले ग्याँसको आयत रोकेपछि बजारमा ग्याँसको अभाव देखिएको हो । नेपाल आयल निगम, ग्याँस तथा पेट्रोल बिक्रेताबीच कमिसनमा कुरा नमिल्दा बजारमा खाना पकाउने एलपी ग्याँसको अभाव सिर्जना भएको हो ।

पछिल्लो समय इन्डियन आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो । पेट्रोलियम पदार्थको मूल्य बढाएर बिक्रेतालाई दिइने कमिसन रोकेको भन्दै व्यवसायीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

निगम र व्यवसायीबीचको झगडाका कारण बजारमा ग्याँस अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले ग्याँस ढुवानीमा भाडादर समायोजन नगरेको भन्दै ग्याँस उद्योगी तथा डिलरहरूले भारतबाट ग्याँस आयात नगर्दा बजारमा अभाव सुरू भएको हो ।

निगमले व्यवसायीको माग सम्बोधनमा कुनै चासो नदेखाएपछि बाध्य भएर एलपी ग्याँसको आयात रोकेको व्यवसायीहरुले बताएका छन् । उद्योगीसँग ग्याँस नभएको नेपाल एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष तथा नेपाल ग्याँसका कार्यकारी प्रमुख गोकुल भण्डारी बताउँछन् ।

‘निगमले हामी व्यवसायीको माग सम्बोधन गरेन, माग सम्बोधन नभएपछि आयात नहुँदा अहिले कुनै पनि उद्योगीसँग बिक्रीका लागि ग्याँस छैन’, उनले भने, ‘निगमसँग कुरा मिल्यो भने पनि बजारमा ग्याँस आउन ४ दिन समय लाग्छ । त्यतिबेलासम्म बजारमा अभाव नै हुन्छ ।’

उनले निगमका कारण बजारमा खाना पकाउने ग्यास अभाव भएको आरोप लगाए । ‘मूल्य बढेर आएको भन्दै निगमले उपभोक्तालाई मूल्य बढाउने तर, हाम्रो कमिसन किन रोकियो’, उनले प्रश्न गर्दै भने, ‘निगमको एकाधिकार बढ्दा बजारमा ग्याँस अभाव भएको हो, यसको जिम्मेवार निगम स्वयम् हो ।’

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

ग्याँस उद्योगीहरुले बिक्रेतालाई ग्याँसको बिक्री वितरण रोकेका हुन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार निगमले कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएका छन् ।

निगमको सो निर्णय मान्य नहुनेभन्दै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले चैत ५ गतेदेखि आन्दोलन गर्दै आएका छन् । बिहीबार उद्योगबाट एलपी ग्याँस बिक्रीमा रोक लगाएका व्यवसायीहरुले शुक्रबार पेट्रोलियम ढुवानी ट्यांकरहरुले लोडिङ अनलोडिङ बन्द गर्दै निगमको डिपोबाट पेट्रोलियम पदार्थको खरिद बन्द गर्ने बताएका छन् ।

निगमले बढेको मूल्य नभएर फागुन ७ गतेको मूल्यमा आधारित कमिसनमात्र बिक्रेताले प्राप्त गर्ने निर्णय गरेको थियो । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३.३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

Share News