
विराटनगर । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई प्रेरित गर्ने अभिव्यक्ति दिने तर, काम गराइ भने उद्योग नै बन्द गर्नुपर्ने खालको भएको भन्दै प्रदेश १ का उद्योगीहरूले आपत्ति जनाएका छन् ।
मंगलबार प्रदेश १ नेपाल परिसंघ, मोरङ जिल्ला उद्योग संगठन र मोरङ व्यावार संघले संयुक्त विज्ञप्ति प्रकाशन गर्दै १२ घण्टे लोडसेडिङ हटाउन आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘१२ घण्टा सम्म गरिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ, यो अवस्थामा सम्वन्धित निकाय गम्भीर भई तत्काल विद्युत् आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न वाध्य हुनेछौं । ’
विगत दुई वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा बढदो ब्याजदरले मरणासन्न पुर्याएको अवस्थामा नेपाल विद्युत् प्रधिकरणको अघोषित लोडसेडिङ गरेर नुनचुक छर्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । उनीहरूले नेपाल विद्युत् प्राधिकरण गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
विद्युत्को भाउ वृद्धि भएको जनाइ कटौति गर्न नमिल्ने भन्दै जिम्मेवार भइदिन उनीहरूले आग्रह गरेका हुन् । मुल्य जति भए पनि तिर्न तयार हुँदासमेत उद्योग व्यवसाय संचालन गर्न आवश्यक विद्युत् आपूर्ति नहुँदा समस्या भएको भन्दै उनीहरूले प्राधिकरणको ध्यानाकर्षण गर्दै उद्योगहरूमा अविलम्व विद्युत आपूर्तिको लागि अनुरोध गरेको जनाएका छन् ।