माछापुच्छ्रे बैंकको क्यूआर क्रान्तिः गाउँगाउँमा पुगेर सिकाउँदैछ डिजिटल बैंकिङ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गरेसँगै माछापुच्छ्रे बैंक क्यूआर सेवा विस्तारमा आक्रामक बनेको छ । बैंकले देशका विभिन्न भू-भागमा गएर डिजिटल बैंकिङमा प्राथमिकता दिइरहेको छ । अहिले माछापुच्छ्रे बैंकले आफुलाई डिजिटल बैंकिङ अन्तर्गतको क्यूआर कोड प्रयोगलाई विस्तार गर्ने एउटा महत्वपूर्ण र अग्रणी बैंकका रुपमा आफुलाई चिनाइरहेको छ । माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गरेसँगै माछापुच्छ्रे बैंक क्यूआर सेवा विस्तारमा आक्रामक बनेको छ । बैंकले देशका विभिन्न भू-भागमा गएर डिजिटल बैंकिङमा प्राथमिकता दिइरहेको छ । अहिले माछापुच्छ्रे बैंकले आफुलाई डिजिटल बैंकिङ अन्तर्गतको क्यूआर कोड प्रयोगलाई विस्तार गर्ने एउटा महत्वपूर्ण र अग्रणी बैंकका रुपमा आफुलाई चिनाइरहेको छ ।

माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ प्रमुख माधव सुवेदी माछापुच्छ्रेले डिजिटल बैंकिङ अन्तर्गतको क्यूआर कोड कारोबारलाई महत्वपूर्ण प्राथमिकता साथ काम गरिरहेको बताउँछन् ।

देशका विभिन्न भूभागमा गएर बैंकले क्यूआर सेवा सुरु गरिरहेको छ भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समेत गएर माछापुच्छ्रेको क्यूआर सेवा उद्घाटन गरिरहेका छन् ।

‘फोनपेले क्यूआर कोडको सेवा ल्याएपछि हामी पनि त्यसमा आवद्ध भयौं, छिमेकी राष्ट्रहरुले पनि डिजिटल बैंकिङ अन्तर्गतको क्यूआर कोड कारोबारलाई प्राथमिकता दिइरहेका छन्’ सुवेदीले भने, ‘अर्को प्रविधि नआएसम्म अबको विकल्प भनेको क्यूआर नै हो ।’

उनका अनुसार अहिले माछापुच्छ्रे बैंकले क्यूआर कोडका प्रयोगकर्ता बढाउनका लागि विभिन्न देशका विभिन्न ठाउँमा कार्यक्रम पनि गरिरहेको छ भने विभिन्न डिमार्टमेन्टल स्टोर तथा पसलहरुसँग सहकार्य गरेर सेवा विस्तार गरिरहेको छ ।

‘मर्चेन्ट बनाउन विभिन्न कार्यक्रमहरु गरिरहेका छौं, सुरुमा हामीले विभिन्न पसल तथा डिपार्टमेन्टहरुमा यसको सुरुवात गर्यौं, हाम्रो क्यासबेस समाज हो, क्यूआरबाट कारोबार हुँदा केही शंका हुन्थ्यो तर, त्यसमा ग्राहकलाई सचेतना कार्यक्रम गरेर सिकाउने काम गर्यौं, अहिले हामीप्रतिको विश्वसनियता पनि बढेको छ,’ उनले थपे ।

सुवेदीका अनुसार हाल माछापुच्छ्रे बैंकको २७ हजार मर्चेन्टहरु छन् । ती मर्चेन्टहरुमार्फत ग्राहक तथा सेवाग्राहीले सेवा लिइरहेका छन् । दैनिक औसतमा ३२ सय वटा भुक्तानी क्यूआर कोडमार्फत् हुने उनको भनाई छ ।

हाल माछापुच्छ्रे बैंकको क्यूआर कोडमार्फत् दैनिक १ करोड रुपैयाँ कारोबार हुने उनको भनाइ छ । ‘अब नयाँ प्रविधि नआउँदा सम्म क्यूआरको नै दबदबा रहन्छ, अहिले सबै देशमा क्यूआरमार्फत् भुक्तानी भइरहेको छ, अहिले छिमेकी देश भारत र चीनमा पनि क्यूआरको भुक्तानी बढ्दैछ, व्यापक रुपमा क्यूआरको प्रयोग हुन्छ, भारतमा सानो चिया पसलमा पनि क्यूआर कोडमार्फत् कारोबार हुन्छ, अब नेपालमा पनि त्यो सम्भव छ,’ उनले भने ।

माछापुच्छ्रे बैंकले देशका विभिन्न शाखामार्फत् क्यूआर कोड कारोबारको विस्तार गरिरहेको छ । सरकारले डिजिटल बैंकिङलाई प्राथमिकता दिएपछि देशका विभिन्न ठाउँमा कार्यक्रम गरेर डिजिटल बैंकिङ पनि माछापुच्छ्रेले सिकाइरहेको छ ।

माछापुच्छ्रे बैंकले सानो तरकारी पसलदेखि डिपार्टमेन्टल स्टोहरुसम्ममा क्यूआर कोड राखेर डिजिटल भुक्तानी गर्नको लागि ठूलो टेवा पुर्याइरहेको छ ।

माछापुच्छ्रे बैंकका अनुसार कोरोना भाइरसपछि भने डिजिटल भुक्तानी बढेको छ । ‘विगतमा नगदमा हुने कारोबारमा नगद थोत्रो हुन्थ्यो, नयाँ नोट छापिरहनु पर्थ्यो, यसले सरकारको लागत पनि बढ्थ्यो तर आज डिजिटल बैंकिङ गर्दा पनि सरकारको लागत घटेको छ, मानिसहरुको समय खर्च कम भइरहेको छ,’ उनले भने ।

लगानीमा प्राथमिकता

माछापुच्छ्रे बैंकले अहिले डिजिटल बैंकिङमा राम्रो लगानी गरेको सुवेदीको भनाइ छ । सकभर ग्राहकलाई बैंकमै नआउने वातावरण सिर्जना गर्नको लागि माछापुच्छ्रे बैंक काम गरिरहेको छ ।

‘हाम्रो डिजिटल बैंकिङमा ठूलो लगानी छ, प्रविधि र जनशक्तिमा फोकस गरिरहेका छौं, सर्वसाधारणहरुलाई पनि सचेतनाका कार्यक्रमहरु दिइरहेका छौं, उनले भने, ‘गुणस्तरीय सेवामा ध्यान दिइरहेका छौं, ग्राहकहरुबाट कुनै कम्प्लेन आउने बित्तिकै समस्याको समाधान गर्ने हामीसँग जनशक्ति छ ।’

उनले साइबर सेक्यूरीटीमा पनि बैंकले ध्यान दिइरहेको बताए । अझै पनि बैंकले मर्चेन्टहरुसँग सहकार्य गरेर काम गरिरहेको उनको भनाई छ ।

‘कुन मर्चेन्टमार्फत् कति कारोबार भइरहेको छ, कसरी काम गरिरहेका छन् भन्ने लगायतका विषयमा पनि हामी लिइरहेका हुन्छौं,’ उनले भने, ‘ग्राहकले पनि डिजिटल भुक्तानी र मर्चेन्टले पनि डिजिटल भुक्तानीमार्फत कारोबार गरेमार्फत् डिजिटल बैंकिङ सम्भव छ ।’

आगामी योजना

माछापुच्छ्रे बैंकले अब ग्राहकलाई बैंक नै आउन नपर्ने पूर्वाधारको विकास गरेर डिजिटल बैंकिङमा काम गरिरहेको छ । बैंकले अब केही दिनभित्रै मोबाइल बैंकिङ एपलाई अपेडट गरर नयाँ विशेषता थप्ने योजना बनाइरहेको छ । त्यसमार्फत पनि धेरै बैंकिङ सेवा लिन सकिने सुवेदीले बताए ।

‘डिजिटल बैंकिङको स्पेस बढाइरहेका छौं, एम ब्रान्च (मोबाइल ब्रान्च)लाई फोकस गरिरहेका छौं, त्यसमार्फत सेवाग्राहीको वित्तीय आवश्यकता पूरा गर्न सकिन्छ,’ उनले भने,‘बैंकहरुको कस्ट सेभिङ्ग र ग्राहकको सुविधाहरु पनि बढ्छ, समग्रमा सबैलाई टेवा पुग्छ ।’

बजार स्वामित्व

क्यूआर कोडको कारोबारलाई प्राथमिकता दिइरहेको माछापुच्छ्रे बैंकको दैनिक औसत १ करोड रुपैयाँ कारोबार हुन्छ । क्यूआर कोडमार्फत् मात्रै हुने यो कारोबार अन्य वाणिज्य बैंकको तुलनामा ठूलो रकम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिरमा मात्रै साढे ६ अर्ब रुपैयाँ क्यूआरमार्फत् कारोबार भएको छ । यो भनेको औसतमा दैनिक २० करोड रुपैयाँ हो । २७ वटा वाणिज्य बैंकको मात्रै हिसाब गर्ने हो भनेपनि एउटा बैंकको दैनिक ७४ लाख रुपैयाँ कारोबार भएको देखिन्छ । जुन औसत हो । तर, सबै बैंकहरुको कारोबार एउटै भने हुँदैन ।

माछापुच्छ्रे बैंकको भने दैनिक औसत १ करोड रुपैयाँ कारोबार हुन्छ भने दैनिक औसत ३ हजार २ सय भुक्तानी हुन्छ । यसले पनि माछापुच्छ्रे बैंकको क्यूआर हिस्सा बढी नै रहेको तथ्यांकबाट देख्न सकिन्छ ।

के छ क्यूआरको प्रक्रिया ?

अन्य डिजिटल भुक्तानीभन्दा क्यूआर कोडको प्रयोग सजिलो छ । क्यूआर कोड स्क्यानका लागि सबैभन्दा पहिले क्यूआर कोड रिडर/स्क्यानर एप्स आवश्यक पर्छ । मोबाइलमा पहिल्यै क्यूआर कोड रिडर/स्क्यानर हुनु पर्छ ।

यदि छैन भने एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसका लागि एप स्टोरमा गएर क्यूआर कोड रिडर/स्क्यानर डाउनलोड गर्न सकिन्छ । भुक्तानीका लागि ग्राहकको बैंकमा खाता हुनु पर्छ । ग्राहकले मोबाइल बैंकिङको सुविधा लिनु पर्छ ।

मोबाइल बैंकिङमा क्यूआर कोडको सुविधा हुन्छ । जसलाई हामीले इस्योर भन्छौं । ग्राहकले जुन नेटवर्कको भएपनि क्यूआरकोड स्क्यान गरेर रकम भुक्तानी गर्न सकिन्छ । कारोबार गर्ने समयमा त्यसमा पिन नम्बर राख्नु पर्ने हुन्छ ।

सुवेदीका अनुसार क्यूआर स्क्यान सामान्य पढेलेखेका मानिसले पनि गर्न सक्छन् । सेवाग्राहीले वान टाइम पासवर्ड (ओटीपी), पिन तथा व्यक्तिगत विवरणहरु भने सुरक्षित राख्न जरुरी छ ।

Share News