बैंकहरुले मनलाग्दी ब्याज लिएपछि प्रिमियममा कडाइ गर्दै राष्ट्र बैंक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रिमियममा कडाइ गर्ने तयारी गरेको छ । वाणिज्य बैंकहरूले आधारदरमा मनपरी ढंगले प्रिमियम थपेर ब्याजदर निर्धारण गरेपछि राष्ट्र बैंकले प्रिमियममा कडाइ गर्ने तयारी गरेको हो । स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारी प्रिमियममा कडाइ गर्नका लागि छलफलमा जुटेका छन् । बैंकहरूले तरलताको अभाव देखाउँदै आधारदरमा मनलाग्दी ढंगले प्रिमियम लिएको गुनासो राष्ट्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रिमियममा कडाइ गर्ने तयारी गरेको छ । वाणिज्य बैंकहरूले आधारदरमा मनपरी ढंगले प्रिमियम थपेर ब्याजदर निर्धारण गरेपछि राष्ट्र बैंकले प्रिमियममा कडाइ गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार गभर्नर महाप्रसाद अधिकारी प्रिमियममा कडाइ गर्नका लागि छलफलमा जुटेका छन् । बैंकहरूले तरलताको अभाव देखाउँदै आधारदरमा मनलाग्दी ढंगले प्रिमियम लिएको गुनासो राष्ट्र बैंकमा बढेपछि राष्ट्र बैंक प्रिमियममा कडाइ गर्न बाध्यकारी अवस्थामा पुगेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

‘अहिले बैंकहरूले मनपरी ढंगले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गरिरहेका छन्, पहुँच भएकाहरूले न्यूनतम प्रिमियमै कर्जा पाइरहेका छन् भने पहुँच नभएका सर्वसाधारणहरूले आधारदरमा महँगो प्रिमियम तिर्नुपर्ने अवस्था छ, राष्ट्र बैंकमा विभिन्न बैंकहरूले मनलाग्दी प्रिमियम लिएको तथा विना जानकारी व्याज बढाइएको गुनासो आएका छन्, अब राष्ट्र बैंकले प्रिमियमको विषयमा सोच्न बाध्य भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

राष्ट्र बैंकमा प्रिमियमसम्बन्धी गुनासो नै बढेपछि केही महिना अगाडि मात्रै राष्ट्र बैंकले २७ वटै बैंकलाई पत्र पठाएर १० करोड रुपैयाँसम्मको ऋणको प्रिमियमदर माग गरेको थियो । अहिले सबै बैंकले प्रिमियम राष्ट्र बैंकसमक्ष पठाइसकेका छन् ।

सो विषयमा राष्ट्र बैंकको अनुसन्धान पनि लगभग सकिसकेको स्रोतको भनाइ छ । राष्ट्र बैंकको व्यवास्था अनुसार ऋणको प्रिमियम एक पटक तोकिएपछि पटक–पटक परिवर्तन गर्न पाइँदैन । तर, बैंकहरूले भने ऋणीको सहमति अर्थात जानकारीविना नै प्रिमियम बढाएको गुनासो राष्ट्र बैंकमा छ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेल पनि बैंकहरूले प्रिमियम बढाएको गुनासो बढेको बताउँछन् । उनले प्रिमियको विषयमा यही नै निर्णय गर्छौं भनेर अहिले भन्नु भन्दा पनि राष्ट्र बैंकले आन्तरिक रुपमा काम गरिरहेको बताए ।

‘पहिलाको तुलनामा बैंकले लिने प्रिमियमको गुनासो राष्ट्र बैंकमा बढेको छ, हामीले सो विषयलाई गहन ढंगबाट हेरेका छौं तर, अहिले नै यो निर्देशन जारी गर्छौं वा यस्तो व्यवस्था गर्छौं भन्दा उचित नहोला,’ उनले विकासन्युजसँग भने ।

उसो त आधारदरमा महँगो प्रिमियम प्रकाशित गर्ने बैंकहरूलाई सो दर कम गर्न पटक–पटक दिएको मौखिक निर्देशन दिएर नमानेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै निश्चित रकमसम्मका कर्जामा सीमा नै तोकिदिएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा उद्यम व्यवसाय गर्नको लागि १ करोड रुपैयाँसम्मको कर्जा लिँदा त्यस्तो कर्जामा आधार दरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप गर्न पाइने व्यवस्था गरिएको थियो ।

आधारदर सस्तो हुँदा ब्याजदर घट्छ भने बढ्दा वृद्धि हुन्छ । जस्तो आधारदर ९ प्रतिशत छ र प्रिमियम ३ प्रतिशत छ भने ब्याजदर १२ प्रतिशत हुन्छ । तर, अहिले बैंकहरुले आधारदरमा महँगो प्रिमियम लिएको गुनासो राष्ट्र बैंकमा आइरहेका छन् ।

२ प्रतिशत प्रिमियम तोक्न अर्थमन्त्रीको निदेशन

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले पनि बैंकहरूको ब्याजदरको विषयमा चासो व्यक्त गरिरहेका छन् । उनी केही सातादेखि विभिन्न सार्वजनिक सभाहरुमा ब्याजदरको विषयमा धारणा राख्दै आएका छन् ।

गत शनिबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा पनि उनले गभर्नर अधिकारीलाई बैंकको ब्याजदर घटाउनेबारे सोच्न निर्देशन दिएका थिए ।

उनले कार्यक्रममा भनेको थिए, ‘बैंकको बढ्दो ब्याजदरप्रति म चिन्तित छु, बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ, अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन्, यसलाई समाधान गर्ने कि हामीले यस्तै चलाइरहने हो भन्ने विषयमा राष्ट्र बैंकले ध्यान दिन आवश्यक छ ।’

अर्थमन्त्रीको सचिवालय स्रोतका अनुसार अर्थमन्त्रीले गभर्नरलाई केही निश्चित क्षेत्रको कर्जामा २ प्रतिशत प्रिमियम तोक्न निर्देशन दिएका छन् । अहिले पनि अर्थमन्त्री शर्मा अहिले आफ्नो सल्ल्लाहकारहरुसँग छलफलमै छन् । बैंकको ब्याजदरको विषयमाा छिट्टै एउटा निचोड आउने अर्थमन्त्रालय स्रोतको भनाइ छ ।

‘अर्थमन्त्रीज्यूले गभर्नरज्यूलाई केही निश्चित क्षेत्रमा प्रवाह हुने कर्जामा आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम लिन पाउने व्यवस्था गर्नु पर्ने सल्लाह दिनु भएको छ, गभर्नरज्यू पनि त्यसमा सकारात्मक हुनुहुन्छ,’ अर्थमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

 

Share News