काठमाडौं । सरकारले काठमाडौंको चोभार सुख्खा बन्दरगाह सचालनका लागि मालबाहक कन्टेनर भित्रिने प्रक्रिया टुंगो लगाएको छ । अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरेसँगै चोभार सुख्खा बन्दरगाहमा भित्रिने कन्टेनरको प्रक्रिया टुङ्गिएको हो ।
काठमाडौंमा स्थापना गरिएको सुक्खा बन्दरगाहबाट सुविधा लिन चाहने पैठरीकर्ताले अनुमतिका लागि मालवस्तु प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा निवेदन दिनुपर्नेछ । नेपाल भन्सार स्वचालन प्रणालीको ट्रान्जिक्ट मोड्युल प्रयोग गरी आवश्यक विवरण घोषणा गरिएको फारम प्रणालीबाटै निवेदन दिन सकिन्छ ।
एलसी खोलेर आयात गरिएका र घोषणा बमोजिमका मालवस्तु आयात भएका कन्टेनरले मात्र यस्तो अनुमति पाउनेछन् ।
यसरी अनुमति पाएका कन्टेनरमा सीमा बिन्दुबाट यता जीपीएस लक लागेको हुनुपर्ने छ । त्यसरी जीपीएस लकबाट भन्सार कार्यालयले उक्त कन्टेनरको अवस्थाका बारेमा नियमित जानकारी लिने छ ।
यस्तै, चोभारमा जाँचपासको अनुमति लिएर आएका कन्टेनरलाई बीचमा कसैले पनि खोल्न वा हेर्न पाउने छैन । तोकिएका भन्सार अधिकृतबाहेक अरूले हेर्न पाउने छैनन् ।
त्यस्तो कन्टेनरलाई ७२ घन्टासम्म कुनै शुल्क लाग्नेछैन, यति तोकिएको समयभन्दा बढी बन्दरगाहमा बसेमा नियमानुसारको शुल्क लाग्नेछ ।
वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुहरूमात्र चोभार भित्रिने पाउनेछन् ।
उक्त ५ भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुहरू चोभार भित्रिने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन ।
सरकारले चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि आवश्यक तयारीमा ढिलाइ गर्दा निर्माण सम्पन्न भएको बन्दरगाह सञ्चालनमा आउन सकेको छैन् ।
सरकारले चोभार सुख्खा बन्दरगाह निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारी पश्चात एक खर्ब ६० करोड लागतमा २६१ रोपनी जग्गामा बन्दरगाह निर्माण गरिएको छ ।