काठमाडौं । बैंकहरुले आफ्नै कर्मचारीलाई पनि ठूलो परिमाणका कर्जा लगानी गर्ने गरेका छन् । कर्मचारीलाई आवश्यक परेको ऋण सोही बैंकले सहुलियत व्याजदरमा दिने गरेका हुन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २२ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीलाई करिब साढे ५५ अर्ब रुपैयाँ कर्जा दिएका छन् । संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ बैंकले भने कर्मचारीलाई दिएको कर्जा रकम खुलेको छैन । कर्मचारीको लागि दिएको कर्जा नखुलेका बैंकहरुमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक र लक्ष्मी बैंक हुन् ।
अन्य २२ वटा वाणिज्य बैंकहरुले कर्मचारीको लागि ५५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ कर्जा दिएका छन् । यसमध्ये कर्मचारीलाई सबैभन्दा बढी कर्जा दिने बैंकमा राष्ट्रिय वाणिज्य बैंक परेको छ भने कम कर्जा दिनेमा प्राइम बैंक छ ।
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई ५ अर्ब ९७ करोड ७० लाख रुपैयाँ कर्जा दिएको छ । नविल बैंकले ५ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ कर्जा दिएको छ ।
यस्तै, हिमालयन बेंकले १ अर्ब ५६ करोड ५५ लाख, नेपाल एसबीआई बैंकले २ अर्ब ३३ करोड २४ लाख, नेपाल बंगलादेश (एनबी) बैंकले १ अर्ब ५६ करोड ४३ लाख, एभरेष्ट बैंकले २ अर्ब १९ करोड ५६ लाख, बैंक अफ काठमाडू (बीओके) ले १ अर्ब २७ करोड ५४ लाख र एनसीसी बैंकले आफ्ना कर्मचारीलाई १ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुका अनुसार एनआईसी एसिया बैंकले ३ अर्ब ६६ करोड ९३ लाख, माछापुच्छ्रे बैंकले ३ अर्ब ५० करोड ६४ लाख, सिद्धार्थ बैंकले १ अर्ब ८२ करोड ३३ लाख, कृषि विकास बैंकले ४ अर्ब २४ करोड ४६ लाख, ग्लोबल आईएमई बैंकले १ अर्ब ७४ करोड ६५ लाख, सिटिजन बैंकले १ अर्ब ३४ करोड ६१ लाख, प्राइम बैंकले ९९ करोड ७४ लाख, सनराइज बैंकले १ अर्ब ३२ करोड ७७ लाख र एनएमबी बैंकले १ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ कर्जा आफ्ना कम्पनीलाई दिएको छ ।
यस्तै, प्रभु बैंकले ४ अर्ब ६० करोड ९ लाख, मेगा बैंकले १ अर्ब ८१ करोड ७२ लाख, सिभिल बैंकले १ अर्ब ५७ करोड २१ लाख, सेन्चुरी बैंकले १ अर्ब ७७ करोड ८६ लाख र सानिमा बैंकले २ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ कर्जा आफ्ना कर्मचारीलाई दिएका छन् ।