काठमाडौं । कसैले वडाअध्यक्ष भनेर भन्यो भने तपाईंको मानसपटलमा कस्तो ‘इमेज’ पस्छ ? काममा सिन्को नभाँच्ने । गफ लगाउने । भनेको कुरा पूरा नगर्ने । यस्तै–यस्तै । तर, पनि उनीहरुको जीवनशैली चिटिक्कको हुन्छ । तर, ललितुपरको महाङकाल गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष संचमान स्याङतानलाई यी शब्द काल्पनिक लाग्छन् ।
उनी भन्छन्, ‘काम गर्ने हो, काम गर्नैका लागि सर्वसाधारणले जिताएका हुन्छन्, उनीहरुकै लागि काम गरेन भने नेता भएको के अर्थ हुन्छन र ? आफु बाँच्नका लागि आफैले काम गर्ने हो, कसैले दिन्छ र खाउँला सोच्ने व्यक्ति परजिवी हो ।’
महाङकाल गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष संचमान स्याङतान आफ्नो वडाको मात्रै होइन महाङकाल गाउँपालिकामै नमुना वडा अध्यक्षका रुपमा परिचित छन् । साधारण जीवनशैली, काममा दिनै खटिने र गाउँघरमा पनि केही गर्नु पर्छ है भन्ने उनको सन्देशले अहिले उनी महाङकाल गाउँपालिकामा परिचित छन् ।
वडा अध्यक्ष भएकोले पनि उनीमाथि ठूलो जिम्मेवारी छ । त्यो भन्दा ठूलो जिम्मेवारी उनको व्यवसायमा छ । उनी खुवा व्यवसायी पनि हुन् ।
‘दैनिक ३ सय लिटर दुधबाट खुवा बनाउँछु, खुवा बेचेरै मासिक ८/९ लाख रुपैयाँ आम्दानी हुन्छ, वडा अध्यक्ष हुनुभन्दा अगाडि मासिक ४० लाखसम्म पनि आम्दानी भएको छ, तर,अहिले समय अलि कम दिन्छु,’ उनी भन्छन् ।
वडा अध्यक्ष स्याङतानले भैंसी पनि पालेका छन् । अहिले उनीसँग १२ वटा भैँसी छन् । उनका अनुसार वडाअध्यक्ष भइसकेपछि उनको व्यवसायमा खस्किएको छ । ‘वडाअध्यक्ष हुनुअघि २५ वटासम्म भैसी थिए, त्यतिखेर आम्दानी राम्रै हुन्थ्यो, अहिले खासै समय दिन पाउँदैन, बिहान बेलुका मात्रै समय दिन्छु,’ उनले भने ।
यसरी सुरु भयो खुवा व्यवसाय
संचमान स्याङतानको घरको आर्थिक अवस्था नाजुक थियो । उमेर बढ्दै थियो । केही गर्नु पर्छ मानसिकता स्याङतानले बनाएका थिए । जागिर खाऔं पढेको छैन । कक्षा ९ सम्म मात्रै पढेकोलाई कसले पो जागिर दिन्छ भन्ने कुरा मनमा खेल्थ्यो तर पैसा भने कमाउनु पर्छ भन्ने लाग्थ्यो ।
तर, कसरी कमाउने भन्ने कुराले भने उनलाई पिरोलिरहन्थ्यो । त्यतिखेर मेरो संगत एक जना ब्राहमणसँग थियो, उनीहरुले भैँसी पाल्थे, भैँसीको दुध बेचेर राम्रै आम्दानी गर्थे, मैले पनि उनीहरुको जस्तै व्यवसाय गर्ने मनसाय बनाएँ, केही भैँसी किनेँ, सुरुमा दुध बेचेँ, पछि खुवा पनि बनाउन थालेँ, अहिले आम्दानी पनि राम्रै छ, आर्थिक अवस्था पनि पहिलेको भन्दाधेरै सुधार भइसक्यो,’ उनले आफ्नो विगत स्मरण गर्दै सुनाए ।
उनका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले पढ्न पाएनन् । विद्यालयको पढाई शुल्क तिर्नै नसकेर उनले कक्षा ९ मै पढाई छोड्न बाध्य भए । ६ जना दाजु भाई छन् । उनीहरु पनि आ–आफ्नै काममा व्यस्त छन् । केहीले भने उनको जस्तै भैँसी पालन गरिरहेका छन् । अहिले उनको परिवारले उनलाई व्यवसायमा साथ दिइरहेका छन् । उनले खुवा व्यवसाय १५ वर्षदेखि गरिरहेका छन् ।
स्याङतान बिहान साढे ४ बजे उठेर ११ बजेसम्म भैसी गोठको काममै व्यस्त हुन्छन् । बिहानको काम सकेर दिउसो अफिस गएर पुनः व्यवसयामा खटिन्छन् । ‘बिहानै घाँस काट्छु, अनि कार्यालयको समय सकेर पनि कृषि कर्ममै लाग्छु’ उनले भने ।
अध्यक्ष स्याङतान अहिले स्वास्थ्य अवस्था कमजोर भएको कारण पहिलेको जस्तो काममा खट्न नसकेको बताउँछन् । ‘बिहान ३ भारी घाँस काटेर अफिस जान्थेँ तर, एक वर्ष अगाडि मिर्गौलामा समस्या आएपछि एउटा मृगौला नै निकाल्नु पर्यो, अहिले गह्रँगो भारी बोक्न सकिँदैन,’ उनी भन्छन् ।
तीन जनालाई रोजगारी
अहिले संचमानले खुवा बनाउनको लागि घरमा तीन जना कामदार राखेका छन् । उनीहरुले दिनभर खुवा घोट्ने काम गर्छन् । मासिक प्रतिव्यक्ति २० हजार रुपैयाँ दिएर उनीहरुलाई काम लगाइरहेका छन् । यस्तै, १५ जना कृषकबाट समेत उनले दुध संकलन गर्छन् ।
‘वडा अध्यक्ष भएपछि व्यवसाय केही खस्कियो, मैले समय दिन पाएको छैन, बिहान बेलुका मात्रै सहयोग गरिरहेको हुन्छु, श्रीमति छोरा र कामदारहरुले काम गरिरहेका हुन्छन्, कारोबार पनि पहिलेको तुलनामा धेरै खस्किएको छ, अब व्यवसायलाई थप विस्तार गर्छु,’ उनले भने ।
उनका अनुसार उनले खुवा व्यवायसँगै तरकारी खेती र लौठ सल्लोको व्यवसाय पनि गर्छन् । उनी अनुभव सुनाउँदै भन्छन्,‘ अहिले नेताहरुलाई चन्दा उठाउने, काम नगर्ने र कुरा मात्रै गर्ने भन्ने मानसिकता सर्वसाधरणमा छ, त्यस्तो गर्नु हुँदैन, हामीले गरेर देखाए मात्रै उनीहरु उत्प्रेरित हुन्छन् र केही नयाँ काम गर्न थाल्छन् ।’
५० रोपनी जग्गा, तीन तले घर
खुवा व्यवसाय गर्न थालेको १५ वर्ष वर्षमा ३ करोडभन्दा बढी पैसा कमाएको उनी सुनाउँछन् । तीन करोडमा उनले ५० रोपनी जग्गा खरिद गरेका छन् भने तीन तले घर निर्माण गरेका छन् ।
‘पहिले आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न पाइएन, अहिले आफुलाई पुग्नेभन्दा बढी कमाइसकेको छु, २५ लाख रुपैयाँ लगानी लागिसकेको छ, अझै लगानी बढाउने योजनामा छु,’ उनले भने । स्थानीय शुभकामना बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख ऋण लिएका स्याङतान सँगैको शिखर कृषि सहकारीका पनि सदस्य हुन् ।
स्याङतानले बनाएको खुवा धार्नीको एक हजार २ सय रुपैयाँमा बिक्री हुन्छ । उनले चापागाउँमा खुवा बिक्री गर्दै आएका छन् । खुवाको बजारको पनि समस्या नभएको उनी बताउँछन् ।
‘जागिर खानु भन्दा व्यवसाय गर्न नै ठीक लाग्यो, १५ वर्षदेखि खुवा घोटिरहेको छु, कहीँ पनि जानु नपर्ने र कमाई भइरहने कारणले मैले भैँसी पालेँ, एउटा भैँसीबाट मासिक १ लाख रुपैयाँ जति आम्दानी हुन्छ, आर्थिक रुपमा अहिले सम्पन्न हुँदै गएको छु, लौठ सल्लोको पनि व्यवसाय गरेको छु , त्यसबाट वार्षिक तीन लाख रुपैयाँ कमाई हुन्छ,’ उनले भने ।
उनका अनुसार व्यवसाय सुरु गर्नका लागि उनले सुरुमा २० लाख रुपैयाँ ऋण लिएका थिए । उनले एउटा भैँसीको मूल्य १ लाख ७० रुपैयाँसम्म पर्ने बताए ।
कृषक जनप्रतिनिधि भएपछि…
अहिले माहाङकाल गाउँपालिकामा संचमान स्याङतान परिचित नाम हो । एउटा साधारण कृषक वडाअध्यक्ष भएपछि उनी सबैको लागि उदाहरणको पात्र बने । उनले आफ्नो काम मार्फत पनि आफुलाई चिनाउन सफल भएको बताउँछन् ।
मेरो वडाअध्यक्ष बन्ने खासै इच्छा पनि थिएन, सबैले वडा अध्यक्षमा उठ्नुस् भनेपछि उठेँ, जितियो पनि, अहिले काम पनि गरिरहेको छु, आफु पनि किसान भएकोले मैले सबैका समस्या र आवश्यकताहरु बुझेको छु, त्यसले मलाई काम गर्न पनि सजिलो भइरहेको छ,’ उनी भन्छन् ।
उनले सो वडामा प्रभावकारी रुपमा लागु गरेको कार्यक्रम हो परजीवी नियन्त्रण कार्यक्रम । ‘सबैंकको घरमा जाँदा भैँसीहरुमा लुतोको समस्या थियो, त्यसपछि मैले परजीवी नियन्त्रण कार्यक्रम ल्याएँ, भ्याक्सिन कार्यक्रम चलाएँ,एउटा घरमा १० हजार दिनु पर्यो, पशु शिविर पनि चलायौं,’ यी कार्यक्रमले किसानहरुलाई धेरै राहत मिल्यो,’ उनले भने ।