काठमाडौं । नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाका प्रबन्ध सञ्चालक विश्वप्रकाश प्रसाईंले राष्ट्र बैंकले लघुवित्तहरुलाई टुहुरो बनाएको गुनासो गरेका छन् । मंगलबार नेष्डो सम्वृद्ध लघुवित्तको सेयर बाँडफाँट तथा सञ्चारकर्मी अन्तर्किया कार्यक्रममा आफ्नो धारणा राख्दै राष्ट्र बैंक लघुवित्तहरुको संरक्षण तथा अभिभावकत्वबाट पछि हटेको धारणा राखे ।
राष्ट्र बैंकबाट लघुवित्तले जुन खालको साथ सर्पोट र अभिभावकत्व पाउनु पर्ने हो त्यो नपाएको उनको गुनासो छ ।
‘हाम्रो समस्याको सरकारबाट पनि सुनुवाई हुने आश मर्यो, राष्ट्र बैंकले पनि अभिभावकत्व पाएनाैं, राष्ट्र बैंकको नीति पनि लघुवित्तको पक्षमा छैन, राष्ट्र बैंकले हामीलाई टुहुरो बनायो, राष्ट्र बैंकले ल्याएका नीति लघुवित्तमैत्री भएनन्, पत्रकारहरु लेखिदनिुस् बरु मलाई के बोलेको भनेर राष्ट्र बैंकले बोलायो भने पनि म जवाफ दिन तयार छु,’ प्रबन्ध सञ्चालक प्रसाईंले भने ।
यस्तै, उनले राष्ट्र बैंकले अनावश्यक रुपमा लघुवित्तहरुको व्याजदरमा सीमा ताेकेकाे बताए । वाणिज्य बैंकहरुले मुद्धति निक्षेपमै ११ प्रतिशत व्याज दिइरहेको बेला लघुवित्तलाई कर्जाको व्याजमा १५ प्रतिशत सीमा तोक्नु अन्याय भएको धारणा राखे ।
‘अर्बौं कारोबार भएको वाणिज्य बैंकले १० प्रतिशत लाभांश दिन नसक्ने, लघुवित्तहरुले शतप्रतिशत लाभांश किन दिन्छन् यो कूरा सबैले जान्न बुझ्नु पर्छ, सरकारसँग के गुनसो गर्नु ? सरकारमा पढेकै मान्छे हुँदैनन् अनि उनीहरुले के बुझ्छन्, एउटा लघुवित्त संस्था १ करोड ४० लाखको पूँजीमा स्थापना हुन्छ, डेढ करोडमा स्थापना भएका लघुवित्त संस्थाले मिहिनेत गरेर डेढ करोडको कारोबार गर्यो भने शतप्रतिशत होइन एक हजार प्रतिशत लाभांश पनि दिन्छन्, यसमा अनावश्यक अंकुश लगाउनु हुँदैन,’ उनले भने ।
उनले लघुवित्तले गरिबहरुलाई मारेर वा अन्य नै काम गरेर नाफा गरी लाभांश नदिएकोले यसमा अनावश्यक अंकुश लगाउन नहुने धारणा राखे ।
‘लघुवित्तको पूँजी सानो छ, काम गराई उत्कृष्ट छ, रातदिन काम गर्छन्, अनि लाभांश बढी हुन्छ, नेस्डो लघुवित्तले चाह्यो भने वा हामीले दिन पायौं भने हाम्रो जगेडाका आधारमा एक सय प्रतिशत लाभांश दिन सक्छौं, शतप्रतिशत लाभांश दिने हैशियत छ तर, दिन मिल्दैन,’ उनले भने ।
वाणिज्य बैंकहरुले हिजो शून्य व्याजदरमा पैसा उठाउँदा १० प्रतिशतमा लगानी गर्दा पनि आम्दानी नहुने अनि लघुवित्तले १२ प्रतिशतमा पैसा उठाएर १५ प्रतिशतमा लगानी गर्दा आम्दानी हुने भन्ने राष्ट्र बैंकको बुझाई बदल्नु पर्ने बताए ।
उनले ३ प्रतिशत मार्जिनले लघुवित्तले सम्पूर्ण खर्चदेखि घरदैलोमा कार्यक्रम र लगायतका काम गर्नु पर्ने बाध्यता रहेको सुनाए । कोभिडको घटेको नाफा कोभिडपछि केही बढेको उनको भनाई छ ।