काठमाडौं । नेपाल आयल निगमले मंगलबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको छ ।
इण्डीयल आयल कर्पाेरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पछिल्लो १२ दिनको अबधिमा २ पटक सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बिहीबार पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १०० अमेरिकी डलरले वृद्धि गरेको थियो ।
१२ दिनमा मूल्य बढाएको निगमले घाटा खाएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको जनाउँदै आएको छ ।
बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५०, डिजेल र मट्टीतेल १३३ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसैगरी, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १३६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १२९५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ ।
ग्यासको १५७५ तथा पेट्रोलको १५० रुपैयाँ र डिजेलको १३३ रुपैयाँ मूल्य हालसम्मकै उच्च हो । निगमका अनुसार आन्तरिक बजारमा मूल्य बढ्ने क्रममा खाना पकाउने ग्याँसको मूल्य हालसम्मै उच्च बिन्दुमा पुगेको हो । निगमले पछिल्लो समय मूल्य घटेर आएतापनि घाटा भएको भन्दै एलपी ग्यासको मूल्य घटाएको छैन् ।
पेट्रोल प्रतिलिटर ९३.७६ रुपैयाँमा खरिद
नयाँ मूल्य सूची अनुसार निगमले इण्डीयन आयल कर्पाेरेशन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ९३ रुपैयाँ ७६ पैसामा खरिद गर्ने गरेको छ । ९३.७६ रुपैयाँमा खरिद गरेको पेट्रोल निगमले काठमाडौं उपत्यकामा प्रतिलिटर १५० रुपैयाँमा बिक्री गर्ने गरेको छ ।
आईओसीबाट ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२.१६ रुपैयाँ र ८८.८३ रुपैयाँमा किनिएको मट्टीतेलमा १३.३६ रुपैयाँ कर लाग्ने गरेको छ । त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च/नाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ ।
खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा समेत निगमले प्रतिलिटर १६ रुपैयाँ २८ पैसा घाटा, डिजेलमा प्रतिलिटर ११.७८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६० रुपैयाँ घाटा रहेको जनाएको छ । यस्तै, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २३ रुपैयाँ ८ पैसा र बाह्य इन्धनमा प्रतिलिटर ६० रुपैयाँ २६ पैसा नाफा रहेको जनाईएको छ ।
निगमले मूल्य बढा पनि अझै १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २८ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ ।