काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनामा २ पटक गरी विभिन्न ४७ वटा वस्तुको आयातमा कडाईको असर राजश्वमा देखिएको छ । राष्ट्र बैंकले विदेशी मुद्राको संचित कम हुदै गएपछि आयातमा कडाई गरेर विदेशी मुद्राको संचिति जोगाउन यस्तो गरेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको माघ महिनाको तथ्यांक अनुसार पुस महिनाको तुलनामा माघ महिनामा ४ अर्ब रुपैयाँ राजस्व कम संकलन भएको छ ।
विभागले दिएको तथ्यांक अनुसार गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । माघ महिनामा ३६ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।
यस्तै, चालु आर्थिक वर्षको सुरुको महिना (साउन) मा मात्रै ३९ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । सुरुको महिनाको तुलनामा सातौ महिनामा ३ अर्ब बढीले राजश्व घटेको हो ।
भन्सार विभागले माघ महिनामा पुसको भन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । विभागले माघ महिनामा ४२ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गर्ने आन्तरिक लक्ष्य राखेको थियो । तर राष्ट्र बैंकको कडाईका कारण माघ महिनामा राजश्व संकलनमा कमी आएकोे हो ।
नेपाल राष्ट्र बैंकले दुई पटक गरी ४७ वस्तुको आयातमा कडाई गरेको छ । बैंकले गत माघ ५ गते पहिलो पटक २० र माघ २६ गते २७ गरी ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो । यस्तो कडाईमा केही वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भनिएको छ सिमित वस्तुहरुमा ५० प्रतिशत मार्जिन राखेर एलसी खोल्नुपर्ने भनिएको छ ।
राष्ट्र बैंकले ६ प्रकारका वस्तुको आयातमा ५० प्रतिशत मार्जिन राखेर एलसी खोल्न पाइने भनेको छ भने ४१ प्रकारका वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले ल्वाङ, चिनीजन्य पदार्थ, मदिरा तथा सुर्तीजन्य वस्तुहरु, परफ्युम र ट्वाइलेट वाटर, सौन्दर्य सम्बन्धी सामग्री, स्याम्पुजन्य, काठ तथा काठबाट बनेका सामग्री, जुत्ता तथा चप्पल, छाता लगायतका वस्तुहरु, व्वाँख, नक्कली कपाल तथा नक्कली फूल, चिप्स मार्बल लगायतका वस्तु, सेरामिकका सामान, सिरिन्ज लगायत सिसाका सामान, चाँदी, फर्निचरका सामान, तासा तथा मनोरञ्जल स्थलमा खेलाइने सामग्रीको आयातमा कडाई गरेको थियो ।
यस्तैगरी, समुन्द्री जीवका माघा तथा मासु, दुधको धुलो, अण्डा, गुलाफलगायतका फूल, सुकेको तरकारी, सुपारी, काजु बदाम पेस्ता लगायतका नर्टस, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर चकलेट, अचार तथा तयारी सुप, कफी, सोयासस तथा टोमाटो केचप, जुस, कुकुरका खाना, पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप, सुनका गरगहना, घडीलगायत अन्य वस्तुको आयातमा कडाइ गरेको छ । यी सबै वस्तुमा शतप्रतिशत मार्जिनको व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ ।
यस्तैगरी, दुई तथा चार पाँग्रे सवारी साधन (विद्युतीय बाहेक), कार्पेट तथा पर्दा, लामो कोट, टिसर्ट ह्यान्ड ब्याग, एप्रोन लगायतका तयारी पोसाक, व्ल्यांकेटमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरिएको छ ।