विदेशीले सेयर बजारमा लगानी गर्न पाउनु पर्ने परिसंघको माग, अपार्टमेन्ट खरिदमा पनि सहजीकरण गर्नुपर्ने

<p>काठमाडौं । उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघले नेपाली मुलका विदेशी नागरिकहरुलाई पनि नेपाली पूँजी बजारमा लगानी गर्न पाउनु पर्ने माग राखेका छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत गरेको व्यवस्थमा आफ्नो धारणा राख्दै परिसंघले यस्तो माग गरेको हो । परिसंघले देशको आर्थिक तथा वित्तीय अवस्था नाजुक रहेको वर्तमान परिवेशमा नेपाल राष्ट्र बैंकले [&hellip;]</p>

काठमाडौं । उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघले नेपाली मुलका विदेशी नागरिकहरुलाई पनि नेपाली पूँजी बजारमा लगानी गर्न पाउनु पर्ने माग राखेका छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत गरेको व्यवस्थमा आफ्नो धारणा राख्दै परिसंघले यस्तो माग गरेको हो ।

परिसंघले देशको आर्थिक तथा वित्तीय अवस्था नाजुक रहेको वर्तमान परिवेशमा नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत भएका व्यवस्थाले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा राखेको छ ।

‘संस्थागत तथा व्यक्तिगत विदेशी लगानीकर्ताहरूलाई प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने कार्यक्रम सहित नेपाली मूलका विदेशी नागरिकहरूलाई अपार्टमेन्ट खरिद र पुँजी बजारमा लगानीमा सहजीकरण गरिनुपर्छ, साथै गैरआवासीय नेपाली र नेपाली मूलका विदेशी नागरिकलाई विदेशी लगानीको न्यूनतम सीमा हटाउन समेत हामी आग्रह गर्दछौँ, विदेशी लगानी हुन सक्ने अन्य क्षेत्रहरू पहिचान तथा अध्ययन गरी खुला गर्ने तर्फ समेत हामी सरोकारवाला सवैको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा  उल्लेख छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरू व्यवसाय विस्तार र विविधीकरणमा नियन्त्रणमुखी हुनु हुँदैन भन्ने परिसंघको धारणा छ ।

समीक्षामार्फत उत्पादनशील क्षेत्रतर्फ प्रवाह हुने कर्जामा अन्य क्षेत्रमा प्रवाह हुने कर्जामा भन्दा कम ब्याजदर कायम गर्ने गरी अध्ययन गर्ने र आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमुनाका रूपमा कार्यान्वयन गर्ने निर्णयले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने परिसंघको माग सम्बोधन हुने क्रममा रहेको परिसंघको बुझाई छ ।

नेपाल राष्ट्र बैंकले समीक्षामार्फत अवलम्बन गरेका मौद्रिक तथा वित्तीय उपायहरूले बजारमा तरलताको समस्या समाधान हुन कठिन देखिन्छ। एकैपटक २ अंकले बैंकदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने निश्चित रहेको परिसंघको बुझाई छ ।

यस्तै, राष्ट्र बैंकले हाल प्रवाह गरिरहेको पुनरकर्जाको सुविधा पुनरावलोकन गर्दै अति प्रभावित क्षेत्र र पुनरोत्थान हुन बाँकी रहेका क्षेत्रतर्फ केन्द्रित गर्ने कार्यदिशा तय गरेबाट पुनरकर्जालाई नियन्त्रित गर्न खोजेको देखिन्छ । कोभिडको प्रभाव अर्थतन्त्रमा अझै पनि कायम रहेको अवस्थामा पुनरकर्जा नियन्त्रण गर्दै त्यको ब्याजसमेत बढाइनुले उद्योग व्यवसायमा प्रतिकूल असर पुग्ने परिसंघको बुझाइ छ। साथै मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी उत्पादनशील क्षेत्रका साथै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन र निर्यातमुखी उद्योगहरूको क्षेत्रमा यो सुविधा पुर्ववत कायम गर्न परिसंघले माग गरेकाे छ।

केन्द्रीय बैंकले विगत केही समययता अवलम्बन गरेका नीतिहरूले आयात संकुचित हुने देखिन्छ। वस्तुको आपूर्ति श्रृङ्खलामा अवरोध सिर्जना हुँदा त्यसले अर्थतन्त्रको विस्तार अवरुद्ध पार्ने परिसंघकाे विज्ञप्तिमा उल्लेख छ। यसले नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने र राजस्व संकलन समेत अपेक्षाकृत नहुने अवस्थाको सिर्जना गर्ने हाम्रो बुझाइ छ। दीर्घकालमा यसले राजस्व संरचनामा नै नकारात्मक असर गर्न सक्नेतर्फ सचेत हुनु पर्ने जनाएकाे छ।

मुलुकको खस्कँदो विदेशी विनिमय संचिति बढाइ बाह्य वित्तीय स्थितिलाई सन्तुलनमा राख्न गैर आवासीय नेपालीलाई विदेशी मुद्रामा बैंक खाता खोल्न सहज वातावरण बनाउने व्यवस्थाले विदेशी मुद्रा संचितिमा सकारात्मक योगदान गर्ने परिसंघकाे बुझाइ छ।

Share News