काठमाडौं । गत पुस २२ गतेदेखि सम्पर्कविहिन भएका ग्रिनलाइन सेन्टरका संस्थापक ओमप्रकाश अग्रवालविरुद्द उजुरी परेको छ । गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उनी विरुद्द महानगरीय प्रहरी वृत दरवारमार्गमा उजुरी दर्ता गरेका हुन् ।
गणेशम् इन्टरप्राइजेजका सञ्चालक समेत रहेका मन्त्री श्रेष्ठले अग्रवालले आफ्नो पैसा नतिरहेको भन्दै उजुरी दिएका हुन् । उजुरीमा उल्लेख गरिए अनुसार उनले आफ्नो ब्राण्डको सामान बिल अनुसार फिर्ता गरिपाउँ भन्दै उजुरी दिएका हुन् ।
अग्रवालले श्रेष्ठको कति रुपैयाँ दिनु पर्ने हाे सो विषय भने खुलेको छैन । यद्यपि उनले १० लाखभन्दा बढी मूल्यको सामान भएको उल्लेख गरेका छन् । यस विषयमा पनि प्रहरीले अध्ययन गरिरहेको महानगरीय प्रहरी परिसरका प्रमुख सुदिप गिरीले बताए ।
‘अहिलेसम्म यति लगानी गरेको भनेर कुनै पनि व्यक्तिले लिखित उजुरी दिएका छैनन्, गेणशम् इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठ नै पहिलो उजुरीकर्ता हुन्, यस विषयमा पनि हामी अध्ययन गर्दैछौं,’ गिरीले भने ।
बैंककाे ऋण, मिटरव्याजीको फन्दामा परेर ऋण तिर्न नसेको पत्र घरमा छोड्दै अग्रवाल परिवारले गत पुस २२ गते नेपाल छोडेको थियो । प्रहरीले उनको परिवार भारत भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट निश्कर्ष निकालेको छ ।
अग्रवाललाई ८० करोड रुपैयाँ बढी ऋण लगानी गरेका चार बैंकले भने अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैनन् भने मिटरव्याजीहरु पनि प्रहरीको सम्पर्कमा नभएको परिसरको भनाई छ । ग्रिनलाइन सेन्टरलाई नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक,ग्लोबल आइएमई र मेगा बैंकले करिब ८० करोड रुपैयाँ ऋण दिइएको बुझिएको छ ।
सुरुमा पैसा लेनदेन गर्ने मानिसहरुले प्रहरीसँग सम्पर्क गरिरहे पनि अहिले कुनैले पनि ‘क्वाइरी’ नगरेको उनले बताए । उनको गाडी भने नेपालमै भेटिएको प्रमुख गिरीको भनाई छ ।
‘उहाँ भारत गएको अनुमान भएपनि गाडी नेपालमै भेटिएको छ, उहाँले ऋण लिएको एउटा बैंकमा गाडी भएको हामीले जानकारी पाएका छौं, हामी गाडीभन्दा पनि मान्छेको खोजीमा छौं,’ उनले विकासन्युजसँग भने ।
यसअघि पनि विकासन्युज डटकमले अग्रवालले भारतबाट नेपालको एक बैंकका सीईओलाई फोन गरेको विषयमा समाचार सम्प्रेषण गरिसकेको छ । गत साता मात्रै अग्रवालले फोन गरेर नेपाल आउने वातावरण मिलाई दिन ती सीईओलाई आग्रह गरिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सम्बन्धित सामग्री:
बैंकका सीईओलाई भारतबाट अग्रवालको फोनः वातावरण सहज बनाउनुस्, नेपाल फर्केरै ऋण तिर्छु
अग्रवाल सम्पर्कविहिन पछि व्यवसायिक घरानाबाटै प्रहरीलाई फोनः सबैको ‘क्वाइरी’ आर्थिक कारोबार