अग्रवाल सम्पर्कविहिन पछि व्यवसायिक घरानाबाटै प्रहरीलाई फोनः सबैको ‘क्वाइरी’ आर्थिक कारोबार

  २०७८ माघ ६ गते १५:४७     सन्तोष रोकाया

काठमाडौं । ग्रिनलाइन सेन्टरका संस्थापक ओमप्रकाश अग्रवाल परिवार सम्पर्कविहिन भएपछि प्रहरीलाई व्यवसायिक घरानाबाटै फोन आउन थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालसँग आर्थिक कारोबार रहेको भन्दै अधिकांश व्यवसायिक घरानाले प्रहरीलाई फोन गरिरहेका छन् ।

गत पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन भएका अग्रवाल परिवारको सूचना अझै अज्ञात छ । प्रहरीले उनको परिवारकाे खोजी कार्य तीव्रताका साथ गरिरहेको छ ।

उनको खोजी कार्य जारी रहेपनि उनीसँग आर्थिक कारोबार गर्ने मानिसहरुले फोनबाट आर्थिक कारोबारको जानकारी गराइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

एसएसपी गिरीका अनुसार अग्रवाल परिवारसँग आर्थिक लेनादेना रहेको भन्दै विभिन्न व्यवसायिक व्यक्ति र उनका आफन्तबाट फोन आइरहेको छ ।

‘अहिले अधिकांश व्यक्तिहरुले अग्रवालसँग आर्थिक लेनादेना थियो भनेर फोन गरिरहनु भएको छ, हामीलाई खोजिदिन भनेको निवेदन अनुसार र्नै हामी खोजी कार्य गरिरहेका छौं, आर्थिक कारोबार कोसँग कति थियो, व्यक्तिको व्यक्तिगत विषयमा धेरै खोतल्न पनि आवश्यक हुँदैन, तर पछिल्लो केही दिनदेखि आर्थिक कारोबार रहेको भन्दै धेरैले फोन गरिरहनु भएको छ, त्यसमा कोही व्यवसायिक व्यक्ति पनि हुनुहुन्छ, कोही आफन्त त कोही उहाँको साथी भनेर पनि फोन गर्नुहुन्छ,’ गिरीले भने ।

महँगो विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएको करिब आधा महिना बितिसक्दा पनि अहिलेसम्म सम्पर्कमा छैनन् । तीन अर्ब रुपैयाँभन्दा बढी ऋणमा फसेपछि सो परिवार सम्पर्कविहीन भएको हो ।

घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएको थियो । पत्रमा बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको उल्लेख छ । सोही पत्रमा मिटर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्ति सिद्ध्याइसकेको समेत उल्लेख छ प्रहरीले सो पत्रलाई क्लुको रुपमा लिएको छ । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोरा अभिषेक र अमितले हस्ताक्षर गरेका छन् ।

ग्रीनलाइन सेन्टरलाई ४ वटा वाणिज्य बैंकले ऋण दिएको सार्वजनिक भइसकेको छ । सो कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट बैंक,एभरेष्ट बैंक,ग्लोबल आइएमई र मेगा बैंकले करिब ८० करोड रुपैयाँ ऋण दिइएको बुझिएको छ ।

एसएसपी गिरी अग्रवालका आफन्त भारतमा बस्ने भएको हुनाले पनि भारतमा गएको हुन सक्ने अनुमान भएको बताउँछन् ।

‘अहिले नै यकिन गर्न गाह्रो छ, तर, भारतमा आफन्त भएको हुनाले र पहिले पनि भारतमा जाने आउने भएको कारणले भारतमा गएकी भन्ने शंका हो, पुस महिनामा बैंकहरुले ब्याजका लागि ताकेता धेरै गर्ने भएकाले उनीहरु केही समयका लागि सम्पर्कविहीन भएको हुन सक्छन्,’ उनले भने ।

उनका अनुसार अग्रवाल परिवारको लोकेसेन अन्तिमपटक मधेस प्रदेशको नेपाल–भारत सीमानजिक भेटिएको छ । यसले पनि उनीहरु भारत पसेको हुन सक्ने प्रहरीले अनुमान गरेको हो ।

विगत २५ वर्षदेखि काठमाडौंमा व्यापार गर्दै आएको परिवार एकाएक सम्पर्कविहीन भएपछि प्रहरीले उनीहरू जान सक्ने सम्भावित स्थानहरूमा खोजी गरिरहेको छ । अहिले अग्रवालको आफन्त, साथी लगायतहरुसँग प्रहरीले सोधखोज गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.