काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र एनआइसीआरएफ (नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसन) बीच समन्वयका लागि सम्झौता भएको छ ।
नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यका साथ काम गर्दै आएका एनआइसीआरएफले नेपाल मेडिसिटीसँगको सहकार्य गर्न लागेको हो ।
यस सम्झौताबाट सघन उपचारको कुनैपनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने सकिने अस्पतालले जनाएको छ ।
अस्पतालको अनुसार उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्याङ्कहरुबाट प्राप्त निष्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिनेछ । जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ ।
अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनैपनि व्यक्ति किन भर्ना हुनुपर्यो, कतिदिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयो जस्ता जानकारीहरु रिसर्च इकाईले राख्ने छ ।
नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चीफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा।डा।निलमणी उपाध्यायले बताए । यस सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पुर्याउने उनले बताए ।