काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एक वर्ष अगाडि सञ्चालनमा ल्याएको कर्पोरेट पे मार्फत हुने कारोबारमा उछाल देखिएको छ । गत वर्षको माघ १ गतेदेखि सञ्चालनमा ल्याएको कर्पोरेट मे मार्फत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुमा बढेसँगै कारोबारमा पनि उछाल देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै सञ्चालन भएको कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छोटो समयमै उल्लेख्य कारोबार गरेको हो ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यो एक वर्षको अवधिसम्म ४१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए । उनका अनुसार गत आर्थिक वर्ष (माघदेखि असारसम्म) ८ अर्ब ६० करोड रुपैयाँ र चालु आवको हालससम्म साढे ३२ अर्ब रुपैयाँ कारोबार भएको छ ।
उनले कर्पोरेट पे मा आवद्ध हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढेसँगै कारोबार पनि वृद्धि हुँदै गएको छ ।
गत वर्ष माघ १ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्पोरेट पे को उद्घाटन गरेका थिए । त्यसयता विभिन्न बैंक तथा वित्तीय संस्था र व्यवसायिक प्रतिष्ठानहरुले यो प्रणालीमा आवद्ध हुँदै सजिलै अनलाइएन भुक्तानीको काम गरिरहेका छन् । यसले ती बैंक तथा वित्तीय संस्थाका ग्राहकले हाल चेक बिनै सजिलै अनलाइन भुक्तानीको सुविधा पाइरहेका छन् ।
राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिइरहेका बेला व्यवसायी तथा संस्थाहरुलाई लक्षित गर्दै एनसीएचएलले कर्पोरेट पे प्लेटफर्म सञ्चालनमा ल्याएर डिजिटल भुक्तानीमा धेरै सहयोग पुगेको प्रधानको भनाई छ ।
‘ठूलो रकमको भुक्तानीका लागि चेक नै काट्नुपर्ने बाध्यता हटाउँदै प्रयोगमा आएको कर्पोरेट पे प्रणाली क्रमिक रुपमा विस्तार हुँदै गएको छ, अझै पनि हामीले धेरै सुधार गर्न बाँकी नै छ, अब यसलाई कसरी थप विस्तार गर्ने, कसरी ग्राहक बढाउने भन्ने तर्फ नै हाम्रो ध्यान जान्छ,’ उनले भने ।
वित्तीय संस्था पनि बढ्दै
एनसीएचएलले अहिले कर्पोरेट पे मा पनि ग्राहकहरु बढ्दै गएको बताएको छ । प्रधानका अनुसार अहिले ४२ सम्म बैंक तथा वित्तीय संस्थाहरु ‘कर्पोरेट पे’मा आवद्ध भइसकेका छन् भने १६ सयभन्दा बढी ग्राहकहरुले यसको सुविधा लिइरहेका छन् । कर्पोरेट पे प्रणालीको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकलाई चेक लिएर बैंकमा जानु पर्ने बाध्यता हट्नुका साथै डिजिटल भुक्तानीको प्रयोग समेत उल्लेख मात्रामा बढेको प्रधानको भनाई छ ।
कुनै एक बैंकमार्फत कर्पोरेट पे मा आवद्ध भइसकेपछि ग्राहकको अनुरोधमा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता एउटै च्यालनमा लिंक गर्न सकिने पनि सीइओ प्रधानले जानकारी दिए ।
यसमा कारोबार शुल्कसमेत एनसीएचएल आइपीएस र कनेक्ट आइपीएसको विद्यमान शुल्क प्रणाली अनुसारै निर्धारण गरिएको छ । जसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब भुक्तानी, कर तथा राजश्व भुक्तानी लगायत अन्य ठुला भुक्तानीसमेत कर्पोरेट पे मार्फत् गर्न सकिने बताइएको छ । यसमा आवद्ध भएर १ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।
आवद्ध कसरी हुने ?
कर्पोरेट पे मा कुनै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भइसकेपछि मात्रै सो बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसको सुविधा पाउँछन् ।
आफ्नो बैंक खाता रहेको व्यक्ति तथा व्यवसायिक प्रतिष्ठानहरुले बैंकमा गएर आवश्यक कागजपत्र र प्रक्रिया पुर्याई इनरोलमेन्ट फारम भरी कर्पोरेट पे सुचारु गर्न सक्ने छन् । त्यसपछि बैंकले उक्त खातालाई कर्पोरेट पेसँग लिंक गरी सेवा सुचारु हुन्छ ।