नबिल र एनबि बैंक मर्जपछि पूँजी साढे २८ अर्ब पुग्ने, यस्तो बन्नेछ बैंक

<p>काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबि) मर्जरको आन्तरिक तयारीमा जुटेका छन् । लामो समयदेखि दुई बैंकबीच मर्जर हुने विषय उठिरहेको भएपनि यस पटक भने दुवै बैंकहरु मर्जरका लागि तातेका हुन् । बैंक मर्जर प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले मर्जर समिति नै बनाएर काम गरिरहेका छन् । मर्जर प्रकृया [&hellip;]</p>

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबि) मर्जरको आन्तरिक तयारीमा जुटेका छन् । लामो समयदेखि दुई बैंकबीच मर्जर हुने विषय उठिरहेको भएपनि यस पटक भने दुवै बैंकहरु मर्जरका लागि तातेका हुन् ।

बैंक मर्जर प्रक्रियालाई छिटोभन्दा छिटो सक्ने रणनीतिका साथ अहिले दुवै बैंकले मर्जर समिति नै बनाएर काम गरिरहेका छन् । मर्जर प्रकृया अगाडि बढाउन नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर समितिको बैठक पनि सोमबार बस्ने बताइएको छ ।

नबिल बैंकले उदयकृष्ण उपाध्याय र एनबि बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समिति बनाएको छ । समितिमा दुबै बैंकका २/२जना सञ्चालकहरु पनि छन् । बैंकका छुट्टाछुट्टै मर्जर समिति सोमबार प्रारम्भिक समझदारीपत्रको खाकामाथि छलफल गर्ने तयारी भइरहेको बुझिएको छ ।

बैंकिङ बजारमा ठूलो बैंकका रुपमा चिनिएको नबिल बैंकले एनबि बैंकलाई गाभेपछि हरेक परिसूचकमा ठूलो बन्नेछ । अहिले मर्जरको प्रक्रियामा हरेको हिमालयन एण्ड नेपाल इन्भेष्टेमेन्ट बैंक मर्जरकाे लागि निश्चित भएसँगै सो बैंकलाई नै हरेक परिसूचकमा ठूलो बैंक बन्ने बैंकिङ बजारको विश्लेषण छ । तर, अब नबिल र एनबि बैंक मर्ज भएपछि हिमालयन एण्ड नपाल इन्भेष्टमेन्ट बैंकभन्दा पनि ठूलो बैंक बन्नेछ ।

स्रोतका अनुसार नबिल बैंकले एनबि बैंकलाई गाभ्ने अनौपचारिक सहमति भइसकेको छ । एनबि बैंकको मूख्य सेयरधनी बंगलादेशको आइएफआइसी बैंकको सम्पूर्ण सेयर नबिलको चौधरी समूह समूहले खरीद गर्नका लागि पैसा जोहो भइरहेको पनि स्रोतका भनाई छ ।

दुई बैंकबीच मर्जर कसरी गर्ने, स्वाप रेसियो कति हुने, के कस्ता सर्त हुने, सीईओ तथा अध्यक्ष को बन्ने भन्ने लगायतका विषयमा भने मर्जर कमिटीले टुङ्गो लगाउने छ ।

मर्जपछि कस्तो बन्ला बैंक ?

नेपाली बैंक तथा वित्तीय क्षेत्रमा ठूलो बैंकका रुपमा परिचित नबिल बैंक आफ्नो विरासत अझै पनि कायम राख्न चाहन्छ । यसअघि ग्लोबल आईएमई बैंक र जनता बैंकबीचको ‘बिग मर्जर’ र त्यसपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता भई राखिएको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक ठूलो बैंक बनेर आउने भएपछि नबिल बैंक पनि ‘बिग मर्जर’को प्रेसरमा परेको हो ।

हालसम्म सबैभन्दा बढी नाफा र लाभांश पनि बढी दिएर सेयर लगानीकर्ताको नजरमा परिरहेको नबिल बैंक आफ्नो परिचय यथावथ राख्न चाहन्छ । एनबि बैंकलाई गाभेर नाफासँगै अन्य परिसूचकमा पनि अब्बल बैंकका रुपमा देखिने रणनीतिमा नबिल बैंक छ ।

हाल नबिल बैंकको कुल चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ छ । ३३.६ प्रतिशत बोनस सेयरपछि पुँजी ४ अर्ब ६५ करोड १७ लाख ३५ हजार बढेर कुल १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार रुपैयाँ पुग्नेछ ।

यस्तै, नेपाल बंगलादेश बैंकको पनि हालसम्म कुल चुक्ता पूँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको पुँजी १ अर्ब ८ करोड ५ लाख ७८ हजार रुपैयाँले बढेर १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।

दुवै बैंक मर्जपछि भने बैंकको कुल चुक्ता पूँजी २८ अर्ब ५८ करोड १५ लाख ८५ हजार रुपैयाँ हुनेछ । जुन सबै बैंकहरुमध्ये बढी नै हो । यो स्वाप रेसियो १:१ हुने यो प्रारम्भिक अनुमान भएपनि दुई बैंकको स्वाप रेसियो गणना हुन भने बाँकी नै छ ।                                     यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका अनुसार नबिल बैंकको कुल निक्षेप संकलन २ खर्ब २३ अर्ब ४७ करोड ४४ लाख ७० हजार रुपैयाँ छ भने एनबि बैंकको ८७ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ छ । मर्ज पछि दुई बैंकको संयुक्त निक्षेप ३ खर्ब १० अर्ब ६० करोड २३ लाख ४१ हजार पुग्नेछ ।

कर्जा लगानीमा पनि नबिल बैंक अहिले अगाडि नै छ । अहिले नबिलको कुल कर्जा लगानी १ खर्ब ९८ अर्ब १४ लाख १८ हजार रुपैयाँ छ भने एनवि बैंकको ६८ अर्ब ६८ करोड ६१ लाख ५० हजार रुपैयाँ छ । दुई बैंकको मर्जपछि बैंकको कुल कर्जा लगानी २ खर्ब ६६ अर्ब ६८ करोड ७५ लाख ६८ हजार रुपैयाँ पुग्नेछ ।

यस्तै, बैंकको जगेडा कोष पनि बढ्नेछ । अहिले नबिल बैंकको जगेडा कोष १५ अर्ब ६९ करोड १९ लाख ६७ हजार रुपैयाँको छ भने एनबिको ४ अर्ब ९८ करोड ६९ लाख ८० हजार रुपैयाँको छ । मर्जपछि बैंकको जगेडा कोषमा कुल २० अर्ब ६७ करोड ८९ लाख ४७ हजार रुपैयाँको हुनेछ ।

नबिल बैंक र एनबि बैंक मर्जपछि शाखा सञ्जाल पनि बढ्नेछन् । हाल नबिल बैंकको १३५ शाखा र नेपाल बंगलादेश बैंकको १०० वटा छन् । नबिल र एनबि बैंक मर्जपछि अधिकांश सूचकमा ठूलो बैंक बन्नेछ ।

Share News