काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबारदेखि कुनै पनि ठाउँमा झ्याप्प-झ्याप्प बत्ती जाने समस्या नआउने बताएका छन् । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै पछिल्लो समय केही प्राविधिक कारणले बिजुली आउने-जाने समस्या भएकोमा अब त्यो समस्या नदोहोरिने बताएका हुन् ।
उनले पत्रकार सम्मेलनमा भने,‘पछिल्लो समय चिसो बढेको कारण विद्युतको डिमाण्ड बढ्यो, मानिसहरुले घरमा हिटर,एसी लगायत बढी विद्युत खपत गर्ने वस्तु प्रयोग गरे, यसलाई हामीसँग भएको ट्रान्सफर्मरले धान्न सकेन र बत्ती आउने जाने समस्या भयो, यो समस्या समाधान भइसकेको छ, बत्ती जाँदैन ।’
यस्तै, उनले ट्रान्सफर्मरको क्षमता कम हुँदा विद्युतको लोड धान्न नसकेर बत्री गएको बताए । उनले विभिन्न ठाउँमा नयाँ बढी क्षमताका ट्रान्सफर्मर राखेकोले अब त्यो समस्या नदोहोरिने बताए ।
उनका अनुसार २०० केभी क्षमताका ट्रान्सफर्मरलाई ३०० र ३०० केभी बढी क्षमता भएका ट्रान्सफर्मर नजिकै अर्को ट्रान्सफर्मर राखिएको जानकारी दिए ।
उनका अनुसार ललितपुरको इमाडोल, महाराजगन्ज र रत्नपार्क क्षेत्रमा ५०/६० नयाँ ट्रान्तफर्मर राखिएको छ ।
‘पानी परे पनि हामीले नियमित बिजुली दिनका लागि धेरै प्रयास गर्यौं, धेरै कामहरु वडा कार्यालयहरुसँग समन्वय गरेर काम गर्नु पर्ने भएकोले धेरै ठाउँमा केही अवरोध पनि सिर्जना भएको छ, घर नजिकै ट्रान्सफर्मर राखेर कुनै समस्या आउँदैन, ट्रान्सफर्मर राख्नका लागि सहमति दिन र समन्वय गर्न पनि म सबै उपभोक्ताहरुलाई आग्रह पनि गर्छु,’ उनले भने ।
उनका अनुसार अब छिट्टै काठमाडौं उपत्यकाले २ हजार मेगावाट विद्युत माग गरेपनि प्राधिकरण दिन सक्ने अवस्थामा छ ।
‘काठमाडौं उपत्यमा मात्र लगभग ३७/३८ सय ट्रान्सफर्मर रहेका छन्, उक्त ट्रान्सफर्मरबाट उपत्यकामा विद्युतको सप्लाई हुन्छ, यदि त्यसको फिल्टरमा नै समस्या आएको छ भने ८/१० ओटा ट्रान्सफर्मर मात्रै समस्या आउँछ,’ उनले भने ।
उनले सिंहदरबार फिडरमा आगलानी हुँदा अनामनगर तथा डिलिबजार क्षेत्रमा बिजुली गएको बताए । पछिल्लो समय केही फिडरहरुमा आगलानी हुँदा समेत विद्युतमा अनियमितता भएको उनको भनाई छ ।
घिसिङ अनुसार प्राधिकरणले विगत २/३ महिनामा एक सय ५० ओटा ट्रान्सफर्मर फेरेको छ भने शुक्रबार बेलुकासम्म उपत्यका भित्रका सबै ट्रान्सफर्मर परिवर्तन हुनेछन् ।
विद्युतको आपूर्ति नै नपुगेर यस्तो भयो कि भन्ने जनताको गुनासो सुनेको छु, त्यो हैन विद्युत् आपूर्ति हामी जति पनि गर्न सक्छौं उनले भने ।