निर्माण सिजनमै घट्यो सिमेन्ट र डण्डीको मूल्य, यस्तो छ नयाँ मूल्य

<p>काठमाडौं । निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । मंसिरमा डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने सिमेन्ट र डण्डीको मूल्य घटेको हो । विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुँदा पनि बैंकमा तरलताको अभाव, विभिन्न राजनीतिक दलहरुको महाधिवेशन हुँदा विकास निर्माणका काम नहुँदा निर्माणजन्य [&hellip;]</p>

काठमाडौं । निर्माणको सिजनमै सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ । मंसिरमा डण्डीको मूल्य बढेपनि पुस लागेपछि भने सिमेन्ट र डण्डीको मूल्य घटेको हो ।

विश्व महमारीका रुपमा फैलिएको कोरोना भाइरस र बर्खायामका कारण रोकिएको निर्माणजन्य कामको सिजन सुरु हुँदा पनि बैंकमा तरलताको अभाव, विभिन्न राजनीतिक दलहरुको महाधिवेशन हुँदा विकास निर्माणका काम नहुँदा निर्माणजन्य सामग्रीको मूल्य घटेको सिमेन्ट उत्पादक संघको भनाई छ ।

संघका उपाध्यक्ष तारा पोखरेलले पुसमा सिमेन्टको मूल्य ५० रुपैयाँसम्म घटेको बताए । उनका अनुसार निर्माण सिजनमै निर्माणजन्य सामग्रीको मूल्य घट्न् पर्ने नभएपनि अहिले विभिन्न कारणले सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य घटेको छ ।

‘दैनिक सिमेन्ट उत्पादन क्षमताको आधा मात्रै बिक्री भइरहेको छ, अहिले निर्माण सिजन नभएको र सिमेन्ट बिक्री कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ, अहिले बोरामा ५० रुपैयाँसम्म घटेको छ, ओपीसी सिमेन्ट प्रतिबोरा ५७० र पीपीसीको ४५० रुपैयाँ मा झरेको छ,’ उनले भने ।

ओपीसीको ६२० र पीपीसी सिमेन्टको मूल्य ५२० रुपैयाँसम्म थियो । विकास निर्माणको काम नहुँदा सिमेन्टको मूल्य घटेको उनको बुझाई छ ।

‘काम गर्नेहरु सबै राजनीतिक दलका महाधिवेशनमा व्यस्त छन्, बैंकमा तरलताको त्यस्तै संकट छ, नयाँ ऋण मात्रै होइन स्वीकृत भइसकेको ऋण पनि बैंकले दिन मानिरहेका छैनन्, निर्माण सम्पन्न भइसकेको कामको रकम पनि भुक्तानी भइसकेको छैन, त्यसले पनि सिमेन्टमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो,’ उनले भने ।

उनका अनुसार अहिले दैनिक उत्पादनको आधा पनि खपत भइरहेको छैन । वार्षिक १८ मिलियन टन उत्पादन हुने भएपनि अहिले ९ मिलियन टन पनि खपत नहुने उनको भनाई छ ।

सिमेन्टसँगै फलामजन्य सामग्रीको मूल्य घटेको छ । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ ।

ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले पछिल्लो समय छडको मूल्य घटेको बताए । उनले आफुले खरिद गरेर ल्याएको डण्डीको मूल्य १०२ रुपैयाँ परेको बताए ।

उनका अनुसार पहिला प्रतिकिलो ११० रुपैयाँ भएको छड अहिले १०२ तथा १०९ रुपैयाँको छड १०४ रुपैयाँमा पर्ने गरेको छ । अहिले केही उद्याेगले उत्पादन गर्ने डण्डीको मूल्य भने ८७ रुपैयाँ पनि पर्ने गरेको छ ।

Share News