राष्ट्र बैंकको निश्कर्षः अर्थतन्त्रका सूचक ‘ठीकठाक’, तरलताको समस्या समाधान गर्न आयातमा कडाई

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सन्तुलित अवस्थामा रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममको आयोजना गर्दै देशका अर्थतन्त्रका सूचकहरु सन्तुलित अवस्थामा रहेको स्पष्ट पारेको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा शोधान्तर घाटा बढेको र आयात वृद्धिले तरलताको अभाव हुन गए पनि अन्य सूचक तथा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सन्तुलित अवस्थामा रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममको आयोजना गर्दै देशका अर्थतन्त्रका सूचकहरु सन्तुलित अवस्थामा रहेको स्पष्ट पारेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको तुलनामा शोधान्तर घाटा बढेको र आयात वृद्धिले तरलताको अभाव हुन गए पनि अन्य सूचक तथा परिसूचक भने ठीकै रहेको बताएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले अहिले अर्थतन्त्रका सूचकहरु कमजोर अवस्थामा नरहेको बताएका हुन् । उनले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचक केही कमजोर भएपनि विगतका वर्षहरुको तुलनामा सही दिशामा रहेको उल्लेख गरे ।

उनले चालु आर्थिक वर्षमा मुद्रास्फिती बढ्न सुरु गरेको र यसले थप चाप पर्ने सम्भावना भएपनि आर्थिक वर्ष २०७६/७७को तुलनामा कम रहेकोले अहिलेको अवस्थालाई सन्तोषजनक नै मान्नु पर्ने बताए । यसका साथै उनले कर्जा प्रवाहमा संकुचन आएमा समग्र मागमा संकुचन आउन सक्ने धारणा राखे ।

यस्तै, उनले चालु आर्थिक वर्षमा अन्तर बैंक व्याजदर विगतका वर्षहरुको तुलनामा कम नै रहेकोले यसलाई पनि सन्तोषजनकका रुपमा लिनु पर्ने बताए ।

‘आधारदर र व्याजदर पनि बढ्न सुरु गरेको छ, तर, विगतका वर्षहरुको तुलनामा निकै तल छ, निर्यात पनि अघिल्लो वर्षदेखि विगतको तुलनामा निक्रै बढेको छ, त्यसैले पनि अहिले नै अर्थतन्त्रमा समस्या आयो भन्न मिल्दैन,’ उनले भने ।

विगतका वर्षहरुदेखि चालु खाता र शोधान्तर स्थिती घाटामा रहँदै आएको बताउँदै उनले यसलाई कम गर्न राष्ट्र बैंक काम गरिरहेको उनको भनाई छ ।

रेमिट्यान्स पनि गत वर्षको तुलनामा घटेपनि आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढी नै रहेको उल्लेख गरे । यस्तै विदेशी विनिमय सञ्चिती गत वर्षको तुलनामा कम भएपनि आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ को तुलनामा बढी नै रहेको बताए । उनले समग्रमा नेपालको अर्थतन्त्र खासै नकारात्मक अवस्थामा नरहेको दावी गरे ।

बिओपी घाटा र आयात बढेकै कारण तरलतामा अभावः गभर्नर

कार्यक्रममका प्रमुख अतिथि रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु ‘ठिकठाक’ रहेको दावी गरे । उनले अहिले शोधान्तर घाटा अर्थात ब्यालेन्स अफ पेमेन्ट (बिओपी घाटा) र आयातमा वृद्धि भएकै कारण तरलतामा अभाव देखिएको बताए ।

उनले अधिकांश वित्तीय सूचकहरु सवल भएपनि केही वित्तीय सूचकमा देखिएको समस्यालाई समाधान गर्नकै लागि राष्ट्र बैंकले नीति निर्माण तथा निर्देशनहरु जारी गर्ने भएकोले त्यसको पालना गर्न पनि आग्रह गरे ।

उनले राष्ट्र बैंकले देशको अर्थतन्त्रको अवस्थालाई अध्ययन गरेर र ल्याउने नीति र नीति ल्याएपछि त्यसले बजारलाई पार्ने प्रभावका विषयलाई पनि अनुसन्धान गरेर नीति ल्याउने भएकोले राष्ट्र बैंकले ल्याउने नीतिको आलोचना भन्दा पनि पालना गर्न आग्रह गरेका हुन् । उनले राष्ट्र बैंकले ल्याउने नीतिको परिणाम दीर्घकालनमा देखिने प्रष्ट पारे ।

उनले राष्ट्र बैंकको नीतिले सही र अर्थतन्त्रलाई प्रतिफल दिने नीति ल्याउने भएपनि त्यसको असर गलत परे सरकार ल्याएको नीति फिर्ता गर्न पनि तयार हुने धारणा राखे ।

अर्थतन्त्रलाई सही दिशामा लैजान गरेको नीतिगत व्यवस्थाले अर्कै समस्या सिर्जना गर्ने अवस्था आए त्यसबाट ब्याक हुन राष्ट्र बैंक तयार रहेको उनको भनाई छ ।

‘हामीले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरण परिचालन तथा नीतिगत व्यवस्था गरेका छौं, तर, त्यस्ता नीतिले समस्या हुन्छ भने त्यसबाट पछि हट्न तयार छौं,’ गभर्नर अधिकारीले भने ।

आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्नको लागि राष्ट्र बैंक सधैं अगाडि बढ्ने गरेको भन्दै उनले आयातको विषयमा अहिले गरिएको व्यवस्था आवश्यक रहेको स्पष्ट पारे ।

उनले तरलताको समस्या समाधान र बजारलाई सहज बनाउनका लागि मौद्रिक औजारहरुको प्रयोग गरेर व्यवस्थापन भईरहेको बताए । वस्तु आयातमा गरिएको कडाई प्रतिबन्ध भने नभएको भन्दै उनले विलाशी वस्तुको आयातमा कडाई गर्नुपर्ने बताए । आयातमा व्यवसायीको पनि लगानी चाहिने भएकोले सोही प्रकारको व्यवस्था राष्ट्र बैंकले गरेको उनको भनाई छ ।

यस्तै, उनले राष्ट्र बैंकले गरेको आयात सम्बन्धी व्यवस्थाले कडाई गरिएका वस्तुहरुको मूल्यबृद्धि हुने र रोजगारी गुम्ने भन्ने तर्कमा आफू सहमत हुन नसकेको तर्क राखे उनले विदेशी मुद्रा संचितिको अवस्था कोभिड अघिको भन्दा पनि राम्रो रहेकोले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको भन्दै आश्वस्त पार्ने प्रसास गरे ।

उनले तरलताको समस्या समाधान गर्न एक साताभित्र ५० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको पनि जानकारी दिए । उनले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरिएको बताउँदै त्यसमध्ये ५० अर्ब रुपैयाँ यसै साता र बाँकी ४२ अर्ब रुपैयाँ पुस महिनाभित्र निकासा गरिसक्ने बताए । अब विस्तारै तरलताको समस्या समाधान हुने उनको भनाई छ ।

‘सीडी रेसियो व्यवस्था नगरेको भए झन संकट’

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था सुपरिक्षण विभागका प्रमुख देवकुमार ढकालले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को व्यवस्था नगरेको भए अवस्था झन असहज हुने बताएका छन् ।

उनले मौद्रिक नीति मार्फत कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) बाट सीडी रेसियोमा नगएको भए अहिले अवस्था झा नाजुक हुने तर्क राखे ।

‘अहिले सीडी रेसियो औषतमा ९२ प्रतिशत छ, तर सीसीडी रेसियो पनि ९१ प्रतिशत पुगेको छ’, सीसीडी ९१ प्रतिशत पुग्नु भनेको नाजुक अवस्था हो, सीसीडी हटाएर सीडी लागु गरेका कारण तरलता अभाव भएको हो भन्ने तर्क गलत हो,’ उनले भने ।

‘सेयर बजारप्रति सधैं सकारात्मक’

कार्यक्रममा सेयर बजारप्रति राष्ट्र बैंकको धारणा सोधेको प्रश्नको जवाफ दिँदै सेयर बजारप्रति राष्ट्र बैंक सधैँ सकारात्मक भएको बताइको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. श्रेष्ठले राष्ट्र बैंक सेयर बजार प्रति राष्ट्र बैंक सधैं सकारात्मक रहेको धारणा दिएका हुन् ।

‘हामी सेयर बजारप्रति सकारात्मक छौं, सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने ।

तरलताको विषलाई लिएर आत्तिनु पर्दैनः अध्यक्ष उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलताको कारण अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका बताए । उनले अहिले तरलताको समस्या रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको धारणा राखे ।

यस्तै उनले अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउने गरेको बताए । ‘ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउने गरेको छ, कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ,’ उनले भने । उनले अब बैंकहरु पनि सन्तुलित भएर जानुपर्ने धारणा राखे ।

अर्थतन्त्र सुधारका प्रयास

राष्ट्र बैंकले केही असन्तुलन अवस्थामा रहेका सूचकहरुलाई सुन्तुलित अवस्थामा ल्याउनका लागि केही प्रयास भइरहेको बताएको छ । राष्ट्र बैंकले अर्थतन्त्रलाई सही दिशामा ल्याउनका लागि र घाटामा रहेको सोधान्तर स्थिती र आयातलाई प्रतिस्थापन गर्नका लागि नीतिगत व्यवस्था नै गरेर राष्ट्र बैंक अगाडि बढेको बताएको हो ।

डा. श्रेष्ठले वर्तमान अर्थतन्त्रका सूचकहरुको बारेमा प्र्रस्तुति दिँदै राष्ट्र बैंकले अर्थतन्त्र सुधारका लागि चाँदी आयात गर्नको लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिएकोदेखि वैदेशिक रोजगारमा जाने कामदारलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौतीको व्यवस्था गरेको जानकारी दिए ।

हामीले केही वस्तुहरुको आयातमा शत प्रतिशत नगद मार्जिनको व्यवस्था गरेका छौं, वैदेशिक रोजगारमा रहेकाहरुलाई बैंकको खातामा १ प्रतिशत थप व्याज प्रदान गर्नेदेखि गैर आवासिय नेपाली तथा यिनीहरुको संस्थाहरुले विदेशी मुद्रामा बचत तथा मुद्दती खाता खोल्न सकने व्यवस्था गरेका छौं, यसले अर्थतन्त्र सुधार र आयात प्रतिस्थापनमा धेरै सहयोग पुग्नेछ,’ उनले भने ।

यस्तै, उनले नीतिगत व्यवस्थामार्फत नै अवैध ढंगले आयात भइरहेको सुनलाई नियन्त्रण गरिएको, विदेशी ऋण ल्याउन सहजता प्रदान गरिएको र ननडेलिभरेवल डेरिभेटिफ फरवार्ड विदेशमा राख्न सक्ने सीमा घटाइएको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा स्वीकृत हुन लागेको पनि जानकारी गराए ।

Share News