काठमाडौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले कोषबाट बाहिरिन चाहेमा जम्मा गरेकाे रकम सजिलै निकाल्न सकिने व्यवस्था गरिने भएको छ । कोषको सञ्चालक समिति बैठकले कोषबाट बाहिरिन खोज्ने सञ्चयकर्तालाई सजिलै रकम भुक्तानीका लागि नीतिगत अवरोध नआओस् भनेर नयाँ व्यवस्था गर्न लागेकाे हो ।
कोषको गत पुष २ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ प्रस्ताव अघि सारेको हो । हाल उक्त प्रस्ताव माथि छलफल भइरहेको बताइएको छ ।
कोषकाे उच्च स्रोतका अनुसार सञ्चयकर्ताले जम्मा गरेको रकम सजिलै भुक्तानी दिनका लागि कोष तयार भएको र यसका लागि बोर्डले निर्णय गर्नु पर्ने भएकोले त्यसको प्रक्रिया अगाडि बढेकाे छ ।
स्रोतका अनुसार हालसम्म ऐन नियमालवीकै कारण सञ्चयकर्ताहरुको रकम भुक्तानी हुन सकेको छैन । साेही नीतिगत अवरोधलाई हटाउनकै लागि बोर्डले नयाँ व्यवस्था गरेर रकम भुक्तानीको बाटो खोल्ने भएको हो ।
‘सञ्चयकर्ता धेरै अगाडि कोषबाट बाहिरिए पनि उनीहरुले आफ्नो रकम झिक्न पाइरहेका छैनन्, २/४ हजार रुपैयाँ भएकाहरु पनि ऐनकै अवरोधका कारण आफ्नो रकम झिक्न नसक्ने अवस्थामा छन्, अवकास पूरा नभइ वा सञ्चयकर्ताको कम्पनी नै बन्द नहुँदासम्म रकम भुक्तानी गर्न नमिल्ने नीतिगत व्यवस्था छ, अब त्यो व्यवस्थालाई पनि असर नहुने किसिमले कसरी सजिलै रकम भुक्तानी गर्न सकिन्छ , हामी छलफलमा छौं, यसका लागि बोर्ड पनि सकारात्मक छ,’ स्रोतले भन्यो ।
कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा १४ को उपदफा १ मा कम्तिमा पाँच वर्षसम्म लगातार कोष कट्टी रकम कोषमा जम्मा गर्ने कर्मचारीले आर्थिक वर्षको शुरूसम्ममा निजको नाममा कोष कट्टी भई जम्मा भएको कूल रकमको साठी प्रतिशतमा नबढ्ने गरी कोषबाट रकम झिक्न सक्नेछ । तर, ऐनकै दफा १४ को उपदफा २ मा उपदफा १ बमोजिम बाहेक कुनै कर्मचारीले निज सेवामा बहाल रहेसम्म कोषबाट रकम झिक्न नपाउने व्यवस्था छ ।
अहिले कर्मचारी सञ्चय कोषमा सरकारी संस्थाका कर्मचारीहरु र निजी कर्मचारीहरु सञ्चयकर्ताका रुपमा छन् । सरकारी कर्मचारीहरु कोषमा अनिवार्य रुपमा आवद्ध छन् भने निजी कम्पनीतर्फका सञ्चयकर्ताहरु कोषले सम्झौता नै गरेर ल्याएको हो ।
‘केही निश्चित प्रक्रिया पूरा गरेर रकम भुक्तानी गर्न सकिन्छ कि भनेर प्रस्तावमाथि छलफल गरिरहेका छौं, यसको निकास चाँडै निस्किएला, हाम्रो ऐन नियम फरक नपर्ने किसिमले व्यवस्थापन गर्न खोजेका छौं,’ स्रोतले भन्यो ।
सामाजिक सुरक्षा कोषको ऐनमा पनि अर्को अवकास कोषमा ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोले कर्मचारी सञ्चय कोषलाई नयाँ व्यवस्था गर्न सहज हुनेछ । स्रोतका अनुसार अब सञ्चालक समितिबाटै नयाँ व्यवस्था गर्ने वा मन्त्रिस्तरीयबाटै निर्णय गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।
कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीका अनुसार कर्मचारी सञ्चय कोषबाट बाहिरिएर शतप्रतिशत पैसा झिक्नका सञ्चयकर्ताले आफु आवद्ध संस्थाबाट राजीनामा पत्र सहित कोषबाट बाहिरिनुको कारण दिएपछि मात्रै भुक्तानी पाउँथ्यो । तर, अर्कै अवकाश कोषमा आवद्ध हुनेहरुले कोषमा जम्मा भएको रकम सजिलै झिक्न सकिरहेका थिएनन् ।
याेगदानमा आधारित सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध हुन अनिवार्य गरेपछि अहिले धेरै कम्पनीहरु कर्मचारी सञ्चय कोष छोडेर सामाजिक सुरक्षा कोषमा आवद्ध भइरहेका छन् । तर, उनीहरुले आफुले सञ्चय कोषमा जम्मा गरेको पैसा झिक्न पाइरहेका छैनन् ।
सामाजिक सुरक्षा कोषमा गएका योगदानकर्ताहरुलाई सहज गर्नको लागि पनि सञ्चय कोषले यो व्यवस्था गर्न लागेको हो । अहिले विशेष गरेर निजी क्षेत्रका कम्पनीहरु कर्मचारी सञ्चय कोष छोडेर धमाधम सामाजिक सुरक्षा कोषमा आवद्ध भइरहेका छन् ।