प्रस्तावित नयाँ विधानले महासंघमा हलचल, उपाध्यक्षहरु र पदाधिकारी नै असन्तुष्ट

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको सुझावलाई लिएर हलचल पैदा भएको छ । नयाँ विधानका लागि सुझाव दिन गठन गरिएको समितिले दिएको सुझावप्रति महासंघका तीन जना नै उपाध्यक्ष असन्तुष्ट देखिएका छन् भने अन्य पदाधिकारी पनि खुसी देखिएका छैनन् । नयाँ विधान तयार पार्नको लागि महासंघले गठन गरेको पूर्व अध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ विधानको सुझावलाई लिएर हलचल पैदा भएको छ । नयाँ विधानका लागि सुझाव दिन गठन गरिएको समितिले दिएको सुझावप्रति महासंघका तीन जना नै उपाध्यक्ष असन्तुष्ट देखिएका छन् भने अन्य पदाधिकारी पनि खुसी देखिएका छैनन् ।

नयाँ विधान तयार पार्नको लागि महासंघले गठन गरेको पूर्व अध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिले वरिष्ठ उपाध्यक्ष पद हटाउने, वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने जस्ता विषय हटाएर प्रत्येक्ष निर्वाचित अध्यक्ष बनाउन सुझाव दिएको छ । यस्तै, कोषाध्यक्ष पद पनि हटाएर उपाध्यक्षले नै कोषाध्यक्षको जिम्मेवारी वहन गर्ने सुझाव दिइएको छ ।

विधान मस्यौदा सुझाव समितिले वरिष्ठ उपाध्यक्ष पद हटाउन गरेको सुझावलाई महासंघका अहिलेका ३ जना नै उपाध्यक्षले असन्तुष्टी जनाएका छन् । महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ (उद्योग), अन्जन श्रेष्ठ (वस्तुगत) र रामचन्द्र सांघाई (एसोसिएट) असन्तुष्ट देखिएका हुन् । महासंघका वर्तमान उपाध्यक्षहरु नै नयाँ व्यवस्थाप्रति असन्तुष्ट रहेको विधान समस्यौदा सुझाव समितिका एक सदस्यले नै पुष्टी गरे ।

नयाँ विधानको लागि समितिले पेश गरेको सुझावप्रति महासंघकै कार्यसमिति सदस्यहरु र अन्य सदस्यहरुले पनि असन्तुष्टी जनाएका छन् । मस्यौदा निर्माणका क्रममा आफूहरुसँग कुनै परामर्श र छलफल नभएको भन्दै महासंघको कार्यसमितिका केही सदस्य र जिल्ला तथा नगरका सदस्यहरुले पनि असन्तुष्टी जनाएका छन् । यस्तै, एसोसिएट र वस्तुगत संघका केही सदस्यको पनि असन्तुष्टी देखिएको छ ।

तर, समिति संयोजक कुशकुमार जोशी भने सरोकारवालाहरुसँग व्यापक छलफल र परामर्शपछि सुझाव तयार पारिएको दाबी गर्छन् ।

‘महासंघको नेतृत्वको पनि विधान संशोधन गर्नु पर्ने पहिलो प्राथमिकता राखेको थियो, त्यही अनुसार समितिले महासंघलाई बलियो र दरिलो रुपमा अगाडि बढ्नको लागि सहयोग पुग्नेछ, अहिले बनेको बिधानले अब प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष छान्ने प्रावाधान गरिएको छ तर, यो विधानले अहिलेका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षमा निर्वाचित गरेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई महासंघको स्वतः अध्यक्ष बन्न भने रोक्ने छैन । ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्ति भने प्रत्येक्ष निर्वाचन लड्नु पर्छ,’ संयोजक जोशीले विधान मस्यौदा महासंघ नेतृत्वलाई बुझाउँदै भनेका थिए ।

चेपुवामा अध्यक्ष गोल्छा

महासंघले नै गठन गरेको समितिले दिएको सुझावप्रति महासंघका उपाध्यक्षहरु र कार्यसमिति सदस्यहरु नै असन्तुष्ट बनेपछि अध्यक्ष शेखर गोल्छा चेपुवामा परेका छन् । उनले महासंघको साधारणसभा नै विधान संशोधन मस्यौदा पेश गर्ने घोषणा गरिसकेका छन् भने कार्यसमितिले निर्णय नगरी त्यस्तो प्रस्ताव साधारणसभामा पेश हुन सक्दैन ।

‘उहाँ (अध्यक्ष गोल्छा) ले यसअघिको साधारणसभा नै विधान संशोधनको लागि मस्यौदा पेश गर्ने घोषणा गरिसक्नु भएको छ, तीन जना नै उपाध्यक्ष र कार्यसमितिका केही सदस्य नयाँ मस्यौदाप्रति असन्तुष्ट देखिएपछि कार्यसमितिले निर्णय गरेर आगामी साधारणसभामा पेश गर्न समस्या देखिएको छ, यो विषयलाई अध्यक्षले कसरी अघि बढाउनु हुन्छ भन्ने विषय अहिलेको लागि प्रतिक्षाकै विषय बन्यो,’ महासंघका एक पदाधिकारीले भने ।

सम्बन्धित समाचार

एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद हटाउन सुझाव, ढकाल सुरक्षित

Share News