गरिब देशको आर्थिक विकासका लागि विश्व बैंकको ९३ अर्ब डलरको राहत प्याकेज, नेपालले पनि पाउने

<p>काठमाडौं । विश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ । कोभिड–१९ महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यस्तो सहयोग घोषणा गरिएको हो । यसमध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता [&hellip;]</p>

काठमाडौं । विश्व बैंक अन्तरगतको अन्तराष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ ।

कोभिड–१९ महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यस्तो सहयोग घोषणा गरिएको हो । यसमध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता गरेका हुन भने बाँकी पुँजी पुँजीबजार, साँवा भुक्तानी र विश्व बैंकको आफ्नै तर्फबाट योगदान हुने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले बताए ।

यो प्याकेज दोस्रो विश्वयुद्धपछिको पुननिर्माणका लागि घोषणा गरिएको प्याकेज जस्तै हो । विश्व बैंकले दोस्रो विश्वयुद्धपछि पुननिर्माणका लागि यस्तै ठूलो प्याकेज ल्याएको थियो ।

नयाँ प्याकेजमा जापानले प्रतिवद्धता जनाइसकेको छ । अन्तर्राष्ट्रिय विकास संघको ६१ वर्षे इतिहासमा जापान सबैभन्दा ठूलो योगदानकर्ता हो । संघको स्रोत परिचालनको अद्वितिय मोडल अनुसार दातृ सहयोग १ डलरलाई उसले लेभरेजिङ्ग (अतिरिक्त स्रोत परिचालन) मार्फत ४ डलर बनाउँछ ।

विश्व बैंकका अध्यक्ष माल्पसले साझेदार देशहरूको उदार सहयोगले विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानिसहरूको जनजीवन सुधार गर्न सकिने बताएका छन् ।

यो सहयोग नेपालसहित विश्वका ७४ देशले प्राप्त गर्नेछन् । खासगरी राजस्व परिचालन कमजोर भएका, ऋणको जोखिम उच्च रहेका, कमजोर र शिथिल साथै द्वन्द्वग्रस्त वा द्वन्द्वबाट बाहिर आएका, अस्थिरता धेरै भएका र साक्षरता कम भएका देशहरूले प्राप्त गर्नेछन् ।

अन्तर्राष्ट्रिय विकास संघको यो सहायता मानव पुँजीमा लगानी, शिक्षा, स्वास्थ्य, पोषण, खोप, सामाजिक सुरक्षा र कमजोर मानिसहरूको सहयोगका लागि परिचालन गरिने बताइएको छ । संघको प्राथमिकतामा लैंगिक विषमता, रोजगारी सिर्जना, कमजोर अवस्था, द्वन्द्व र हिंसाको अन्त्य चाहेको छ ।

Share News