काठमाडौं । गत असोज मसान्तसम्ममा सरकारको चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा छ । जबकि अघिल्लो आर्थिक वर्षको असोजसम्ममा चालु खाता ३३ अर्ब ३८ करोड रुपैयाँ बचतमा थियो ।
चालु आर्थिक वर्षमा पुजीगत ट्रान्सफर घटेपनि प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको गत असोज मसान्तसम्ममा पुँजीगत ट्रान्सफर अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा ४५.९ प्रतिशतले घटेर १ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी पनि अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा ७३.५ प्रतिशतले बढेर ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोज मसान्तसम्ममा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालमा भित्रिने विदेशी मुद्राभन्दा बाहिरि जाने विदेशी मुद्रा ७६ अर्ब १४ करोड रुपैयाँले बढी छ । अर्थात चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा शोधनान्तर स्थिति (बीओपी) ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा छ । जबकि आघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा बीओपी १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा थियो ।
अहिले घाटामा रहेको बीओपी र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले अर्थमनत्रालय, राष्ट्र बैंक जस्ता वित्त क्षेत्रका नीति निर्माताको जिम्मेवारी लिएका अधिकारीहरुको टाउको दुखाएको मात्रै छैन, निन्द्रा र गायब बनाइदिएको छ । बैंकिङ क्षेत्रले तरलता अभावको कारण कर्जा लगानी गर्न सकिरहेको छैन । कर्जा लगानी संकुचित हुँदा सरकारले लिएको ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य प्राप्त गर्न कठिन हुने देखिन्छ । कर्जा लगानी खुम्चिँदा आवश्यक पुँजीको अभावमा अर्थतन्त्र संकुचित हुँदै गइरहेको छ । कोभिड महामारीपछि केही तंग्रिन थालेको अर्थतन्त्रका लागि घाटामा गएको बीओपी र तरलता अभावको कारण रोकिएको कर्जा लगानी अर्काे गम्भीर प्रहार जस्तो भएको छ ।
आयातको अस्वभाविक र अनियन्त्रित बृद्धि नै बीओपी घाटामा लाने र बैंकिङ क्षेत्रको तरलता सिध्दाउने प्रमुख कारक देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकि गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आयात २०७६ सालको साउनदेखि कात्तिकसम्ममा भएको आयातभन्दा निकै बढी छ । २०७६ सालको साउनदेखि कात्तिकसम्मको अवस्था भनेको कोभिड महामारी सुरु हुनुअघिको सामान्य अवस्था र करिब दुई तिहाई बहुमत सहितको शक्तिशाली सरकार भएको अवस्था हो । २०७६ को साउनदेखि कात्तिकसम्ममा जम्मा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड, भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड, असोजमा १ खर्ब ६४ अर्ब र कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
२०७६ सालको साउनमा १ खर्ब २० अर्ब ६१ करोड, भदौमा १ खर्ब ८ अर्ब ८९ करोड, असोजमा १ खर्ब ५ अर्ब ४४ करोड र कात्तिकमा १ खर्ब १५ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
बैंकहरुले निजी क्षेत्रलाई दिएको कर्जाको अधिकांश हिस्सा पनि आयातमै प्रयोग हुने गरेका कारण बैंकिङ क्षेत्रको कर्जा बृद्धिले आयात बृद्धि गरेको र सोही कारण बैंकिङ क्षेत्रमा तरलता अभाव र बीओपी घाटामा गएको सरकारी अधिकारीहरुको विश्लेषण छ ।