काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट शनिबार प्रस्तुत गरेका छन् । उनले बजेट पस्त्त गर्दै करका दर र दायरमा पनि व्यापक परिवर्तन गरेका छन् ।
यस्तो छ उनले कर सम्बन्धि गरेको नयाँ व्यवस्था
– भन्सार विन्दूमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण कर तथा महसूल विद्युतीय प्रणालीमार्फत गर्न सक्ने व्यवस्था मिलाइनेछ। उद्योगले निकासी पैठारी संकेत नम्बर ५ वर्षका लागि एकै पटक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छु
-कोभिड- १९ महामारीबाट प्रभावित उद्योग, व्यवसायलाई कर छुट तथा सहुलियत उपलब्ध गराउने ।
-आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने व्यवस्था मिलाएको छु।
-कोभिड- १९ बाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याएको छु।
-कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरेको छु।
-आयकर ऐन, २०५८,मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्त:शुल्क ऐन, २०५८ बमोजिम २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झुट्टा तथा नक्कली विजक बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको व्याजको ५० प्रतिशत रकम 2२०७८मंसीर मसान्तसम्म बुझाएमा बाँकी व्याज, शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था मिलाएको छु।
-आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन,२०५२ र अन्त:शुल्क ऐन,२०५८ बमोजिम बक्यौता रहेको २०७६ असार मसान्तसम्मको कर रकम र सोमा लागेको व्याज २०७८ पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरेको छु।
-आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोभिड- १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरेको छु।
-आर्थिक वर्ष २०७७/७८ मा व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनका लागि छुट्याइएको रकममध्येस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशिष्टीकृत अस्पताल निर्माण वा तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड- १९ को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न दिने व्यवस्था मिलाएको छु।
-निवृत्तभरण वापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट दिने व्यवस्था मिलाएको छु।
-करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई-लाइव्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण-पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिएको छु।
-वण्डेड वेयरहाउसको सुविधा अन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत्र मसान्तसम्म बढाएको छु।
-अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य जीवनदायक सामग्री र औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसूल, मूल्य अभिवृद्धि कर र अन्त:शुल्क २०७८ पुस मसान्तसम्म छुट दिएको छु।
-विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीयसवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छु।
-इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर 1 प्रतिशत कायम गरेको छु। रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको छु।
-शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महसुल५० प्रतिशत घटाएको छु।
-मूल्य अभिवृद्धि करको दर यथावत् राखेको छु। भन्सार महसूलका दरहरुमा सामान्य समायोजन गरेको छु। मदिरा, वियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्त:शुल्क वृद्धि गरेको छु।
-छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइनेछ। मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमश: अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था मिलाइनेछ।
-साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोवारको सीमा रु. २० लाखबाट रु. ३० लाख पुर्याएको छु। कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा रु. ५० लाखबाट रु. १ करोड पुर्याएको छु। सामुहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरेको छु।
-डेविट कार्ड, क्रेडिट कार्ड, क्यूआरकोड, स्क्यानटुपे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयन गरिनेछ।
-चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छु। नेपालमा दर्ता भएका सिपिङ्ग कम्पनीले कन्टेनर आयात गर्दा लाग्ने भन्सार महसुल घटाएको छु।
-कृषिको व्यावसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्न व्यवसायिक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिएको छु। सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको छु।
-कोभिड महामारीपछिको आर्थिक पुनरूत्थानलाई तीब्रता दिन आगामी आर्थिक वर्षको साउन १ गतेदेखि स्थापना हुने उत्पादनमुलक विशेष उद्योगको लागि संस्थागत आयकरको दर ५ वर्षभित्र१ ५ प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष १ प्रतिशत विन्दूले घटाउँदै जाने नीति अवलम्बन गरिनेछ।
-स्टार्टअप व्यवसायलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शत प्रतिशत छुट दिएको छु। निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा ५ वटा स्टार्टअप व्यवसायलाई प्रति व्यवसाय रु.१ लाखसम्मको बीउ पुँजी उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु।
-स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाएको छु।
-बैंकहरूले विदेशी वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाएको छु। सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने व्यवस्था गरेको छु।
-वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पहिलो ३ वर्षसम्म लाग्ने आयकरको ५० प्रतिशत र थप २ वर्षसम्म २५ प्रतिशत छुट हुने व्यवस्था गरेको छु ।
-औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्चालनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरू भएको ३ वर्षसम्म आयकरमा ५० प्रतिशत र त्यसपछिको ५ वर्षसम्म २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छु।
-राजस्वको दायरा विस्तार एवम् कराधारको संरक्षण, कर चुहावट नियन्त्रण र लगानीमैत्री वातावरण निर्माण गर्न मूल्य अभिवृद्धि कर, आयकर,भन्सार, अन्त:शुल्क र गैर कर लगायतका प्रत्यक्ष एवम् अप्रत्यक्ष कर प्रणालीमा गर्नुपर्ने सुधारका लागिसुझाव दिन कर प्रणाली पुनरावलोकन उच्चस्तरीय आयोग गठन गरिनेछ।
-कर बक्यौता नभएका र चालु वर्षमा स्वयं कर निर्धारण अनुसारको कर भुक्तानी गरेका सबै करदाताले स्वचालित प्रणालीबाट कर चुक्ता प्रमाणपत्र पाउने व्यवस्था मिलाइनेछ। मूल्य अभिबृद्धि करको खरिद-बिक्री खाता प्रत्येक वर्ष कर अधिकृतबाट प्रमाणित गर्नुपर्ने हालको व्यवस्था हटाएको छु।
-छैठौं चरणको भन्सार सुधार तथा आधुनिकीकरण योजना आगामी साउन 1 गतेदेखि लागू गरिनेछ। राष्ट्रिय एकद्वार प्रणालीलार्इ पूर्ण रुपमा कार्यान्वयनमा ल्याइनेछ।
-भन्सार विन्दूमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण कर तथा महसूल विद्युतीय प्रणालीमार्फत गर्न सक्ने व्यवस्था मिलाइनेछ। उद्योगले निकासी पैठारी संकेत नम्बर ५ वर्षका लागि एकै पटक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छु।
-मेची, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, रसुवा र तातोपानी गरी सात ठूला भन्सार कार्यालयमा कन्टेनर स्क्यानर मेशिन, मालवस्तु तौलिने वइङ्ग मेशिन लगायतका आधुनिक उपकरण जडान गरिनेछ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एवम् जनकपुर रेलवे स्टेशनमा भन्सार कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइनेछ।
-राष्ट्रिय सुरक्षा, मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने मालवस्तुको आयात नियन्त्रण गर्न भन्सार कार्यालयमा प्राथमिकताका आधारमा एकीकृत प्रयोगशालाको स्थापना र स्तरोन्नति गरिनेछ।
-अन्त:शुल्क स्टिकर प्रयोग गर्दा क्यूआरकोड स्क्यान गरी सोको तथ्याङ्क आन्तरिक राजस्व विभागको स्वचालित प्रणालीमा अभिलेख गर्ने प्रबन्ध मिलाइनेछ। वियरको उत्पादन गर्ने प्रतिष्ठानहरुमा फ्लो मिटर राख्ने व्यवस्था गरिनेछ।