
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोना सँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका हुन् ।
उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताए ।
‘एउटा शब्द छ नी अहिले प्रचलनमा ‘लिभिङ टुगेदर’ । अब कुरा के हो भने हामीले महामारीसँग होस पुर्याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ । अरु उपायतिर जान उचित हुँदैन । निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्छ । आफु सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्छ ।’, उनले भने ।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवतजावतले उपत्यका संक्रमणको हब बनेको बताएका हुन् । सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै नीजि अस्पताल र शिक्षण अस्पतालहरुसँग सम्झौता गरेर अगाडी बढिरहेको बताए ।
उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेसनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले स्थानीय सरकारमार्फत सर्वसाधारणको कोरोना बीमाको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्याना दिनुपर्ने बताए । संसदीय समितिबाट कारागारभित्र रहेका कैदीहरुको व्यवस्थापनका लागि पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले केही नगरेको गुनासो उनको छ । कोरोनाबाट कारागारभित्र अहिलेसम्म ४ जनाको मृत्यु भएको उल्लेख गर्दै उहाँले धेरेलाई लक्षण देखिएपनि परीक्षण नभएकोमा दुःख व्यक्त गरे । कैदीहरुको व्यवस्थापनका लागि कानून अनुसार अगाडी बढ्नुपर्ने सुझाव उनले सरकारलाई दिए ।
महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समिक्षा गर्दै उपत्यकाबाट प्रतिनिधसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।