धान उत्पादनमा गिरावट, देशकाे अर्थतन्त्रमा ठूलाे धक्का

<p>काठमाडौं । नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा समेत असर पर्ने भएकाले अर्थतन्त्रमा धक्का पुग्ने विज्ञहरुको धारणा रहेको छ । गत वर्ष कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव पाँच नौ प्रतिशत थियो [&hellip;]</p>

काठमाडौं । नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा समेत असर पर्ने भएकाले अर्थतन्त्रमा धक्का पुग्ने विज्ञहरुको धारणा रहेको छ ।

गत वर्ष कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव पाँच नौ प्रतिशत थियो । आर्थिक सर्वेक्षण २०७५/७६ मा भने कूल कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान २६ दशमलव नौ आठ प्रतिशत पुग्ने अनुमान थियो । कृषि क्षेत्रको प्रमुख खाद्यान्न बाली धान उत्पादनले कूल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत हिस्सा ओगटेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष गत वर्षभन्दा एक दशमलव शून्य पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको जनाएको छ । मन्त्रालयका अनुसार उत्पादन घट्नुमा समयमा वर्षा नहुनु, खेतीयोग्य जमिन खण्डीकरण हुँदै जानु, तराई क्षेत्रमा डुबान हुनु, पर्याप्त मात्रमा सिँचाइ सुविधा नपुग्नु र युवा वर्ग खेती किसानी कार्यबाट पलायन हुनुलाई जनाएको छ ।

गत आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष भने सो उत्पादनमा एक दशमलव शून्य पाँच प्रतिशतले उत्पादन घट्न गई ५५ लाख ५१ हजार मेट्रिक टनमा सीमित हुन पुग्यो । यसका कारण ५९ लाख मेट्रिक टन धान उत्पादन घटेको भए पनि जनसङ्ख्या भने बढ्दै गएको छ । विसं २०६८ सालको जनगणनालाई आधार मान्दा नेपालीका लागि झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि गत वर्ष लगभग रु २८ अर्बको चामल आयात गरेको थियो । नेपालमा चैते, बर्खे र घैँया धानको खेती हुँदै आएको छ ।

आव २०६०/६१ देखि २०७४/७५ सम्मको तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसम मुख्य कारक देखिन्छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम प्रतिकूल भएमा धानको उत्पादन घटेको छ ।

नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन)मा वर्षा भएन भने सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन ।

नेपालमा २०६०/६१ देखि २०७४/७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धान खेती भएको वर्ष २०६०/६१ साल हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा धान खेती भएको थियो । उक्त वर्ष ४४ लाख ५५ हजार ७ सय ७२ मेट्रिक टन धान फलेको थियो ।

त्यसैगरी, त्यसको ११ वर्षपछि सबैभन्दा कम २०७२/७३ मा १३ लाख ६२ हजार ९ सय ८ हेक्टर जमिनमा धान खेती भएको थियो । सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको अवधिमा सबैभन्दा धेरै धान फलेको वर्ष २०७३/७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । आव २०६०/६१ मा १५ लाख ५९ हजार ४ सय ३६ हेक्टरमा धान खेती भएको थियो । पन्ध्र वर्षपछि २०७४/७५ मा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।

वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपर जोन’ घोषणा गरी लागू गरेको छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी पाँच वर्ष अर्थात् विसं २०७८/७९ मा नेपालले एक करोड चार लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । रासस

Share News