काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा विशेष क्षमता हुने भएकोले सोको प्रष्फुटन गराउदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताए । हरेक अपांगहरुमा विशेष क्षमता हुन्छ , त्यसलाई पहिचान गरेर व्यक्तित्व विकासको अवसर दिने हो भने उनीहरुले पनि हाम्रो समाजलाई निकै ठूलो योगदान दिन सक्छन ,सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘तपाईले स्टेफन हकिंगको नाम सुन्नुभएको छ, उहाँले ब्ल्याकहोलको सिद्धान्तको प्रतिप्रादन गर्नुभयो उहाँ अपांग हुनुहुन्थ्यो ।’
उपराष्ट्रपति पुनले नेपालको संविधानले फरक क्षमता भएका (अपांग) नागरिकहरुको संरक्षणको समुचित व्यवस्था गरेको र संविधानले उनीहरुलाई दिएका संरक्षणात्मक अधिकारको उपयोग गर्ने सम्बन्धमा सरकारले पनि सामाजिक सुरक्षा र कल्याणका विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको बताए । उपराष्ट्रपति पुनले सम्मेलनबाट पारित प्रस्तावहरु बौद्धिक अपांगता भएका व्यक्तिहरुको लागिमात्र नभएर उनीहरुको हकहित र कल्याणका कार्यक्रम गर्न चाहने विश्वका सबै देशका सरकार र नागरिकहरुका लागि उत्तिकै उपयोगी हुने विश्वास पनि व्यक्त गरेका छन् ।
समारोहमा एशियाली बौद्धिक अपांग महासंघका अध्यक्ष डा.सच्चिदानन्द श्रीवास्तवले बौद्धिक अपांगता भएका बालबालिकाहरुको हेरचाह, शिक्षा, स्वास्थ्योपचार, तालिम र जिविकोपार्जनका क्षेत्रमा एशियामा भएका प्रयासहरुबाट एकापसमा ज्ञान,सीप,अनुभवको आदानप्रदान गर्न यो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले सम्मेलनले बौद्धिक अपांगता भएका व्यक्तिहरुको हेरचाह,शिक्षा,स्वास्थोपचार,तालिम र जीविकोपार्जनका क्षेत्रमा देखिएका समस्या, तिनको समाधानका लािग गरिनु पर्ने कार्यलाई समता,समानता र समावेशिताका मूल नारामा समेटेर सम्मेलनको आयोजना गरिएको जनाए ।
कार्यक्रममा बौद्धिक अपांगता भएका व्यक्तिहरुको तर्फबाट शशिबाबु तिवारीले उपयुक्त हेरचाह,शिक्षा र तालिम प्राप्त गरेकोले आफूले व्यक्तित्व विकास गरी आत्मनिर्भर भई जीविकोपार्जनमा सक्षम हुनपाएकोमा गर्वको अनुभूति भएको उल्लेख गर्दै बौद्धिक अपांगता भएका व्यक्तिलाई उपयुक्त अवसरको मात्र खाँचो रहेको बताए ।
कार्यक्रममा उपयुक्त हेरचाह,शिक्षा र तालिमप्राप्त बौद्धिक अपांगता भएका व्यक्तिहरुसंग वैवाहिक बन्धनमा बाँधिएर सफलतापूर्वक गृहस्थ जीवनमा प्रवेश गरेका नमूना जोडीहरुलाई उपस्थित गराएर कदर पनि गरिएको थियो । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका बौद्धिक अपांगता भएका व्यक्तिहरुको सम्बन्धमा प्रकाशित हुने जर्नलका सम्पादक दायगु विश्वविद्यालय कोरियाका प्राध्यापक योंग वुक किमले पनि सम्बोधन गरेका थिए ।
सम्मेलनको उद्घाटन शत्रमा बौद्धिक अपांग भएका व्यक्तिहरुको कल्याणमा उत्कृष्ट काम गर्ने नेपाल,सिंगापुर र फिलिपिन्सका संस्थाहरुलाई १ । १ लाख येनको पुरस्कार पनि प्रदान गरिएको थियो ।