
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) प्रणाली पुनः सञ्चालनमा ल्याएको छ । करिब साढे दुई महिना अघिदेखि सञ्चालनमा आएको केही दिनमै समस्या आएपछि बन्द भएको उक्त प्रणाली मंसिर ६ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।
राष्ट्र बैंकले ठूलो रकम भुक्तानीको लागि गत भदौ २६ गतेदेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको थियो । हाल सम्पूर्ण वाणिज्य बैंकहरु यस प्रणालीको प्रत्यक्ष सदस्य रही यस प्रणाली मार्फत कारोबार गरिरहेका छन् । साथै, निकट भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यस प्रणालीको सदस्य बनाई यसको उपयोगिता वृद्धि गर्दै लाने राष्ट्र बैंकको योजना रहेको छ ।
यस प्रणाली सञ्चालमा आए पश्चात् ठूलो रकमको भुक्तानीका लागि महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको भुक्तानीमा सजिलो हुनुका साथै वास्तविक समयमै कारोबार राफसाफ हुने छ । यसले भुक्तानी प्रणालीमा कारोबारको टर्नओभर बढाउने हुँदा मुद्राको वेग समेत बढ्न गई तरलता व्यवस्थापन समेत सजिलो हुने छ । ग्राहकहरुले २ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार गर्न यो प्रणालीको प्रयोग गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
आरटीजीएस सञ्चालन सम्बन्धमा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट आरटीजीएस सिष्टम रुल्स २०१९ तथा आरटीजीएस सम्बन्धी निर्देशन समेत जारी भइसकेको छ ।