नयाँ प्रदेश प्रमुखः पूर्वउपप्रधानमन्त्रीदेखि सादगी नेतासम्म

<p>काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं र गण्डकी प्र्रदेशमा अमिक शेरचन नियुक्त भएका छन् [&hellip;]</p>


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं र गण्डकी प्र्रदेशमा अमिक शेरचन नियुक्त भएका छन् ।

यस्तै प्रदेश नं ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको चिवालयको बैठकले नयाँ प्रदेश प्रमुखको नाम टुङ्गो लगाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखको नाम निक्र्योल गरेपछिलगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो । राष्ट्रपति भण्डारीले आइतबार तत्कालीन सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

नेकपाले पूर्वउपप्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वलाई प्रदेश प्रमुखमा छनोट गरेको हो । आलङ्कारिक र संवैधानिक पदमा विशेष गरी पूर्वप्रशासकलाई प्राथमिकता दिइँदै आएकामा यसपटक भने कम्युनिस्ट पार्टीका पुराना नेतालाई जिम्मा दिइएको हो ।

नवनियुक्त प्रदेश प्रमुखमा राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिएर उनीहरुलाई सम्मान गरिएको नेकपाको दाबी छ । त्यसो त नेकपाले आफ्नो घर पायक प्रदेशभन्दा अन्य प्रदेशको प्रमुख बनाएर नयाँ सन्देशसमेत दिएको छ ।

गण्डकी प्रदेशमा नवनियुक्त भएका शेरचन पूर्वउपप्रधानमन्त्री हुन् । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उहाँले उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

तत्कालीन जनमोर्चा नेपालका अध्यक्षसमेत भएका शेरचन दोस्रो जनआन्दोलनका क्रममा प्रमुख सात राजनीतिक दलकोतर्फबाट सक्रिय भूमिका निर्वाह गरेका थिए । यस्तै साविक नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगको प्रमुखसमेत भएका शेरचन पछिल्लो पटक नेकपाको नेताका रुपमा कार्यरत छन् ।

यस्तै प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त अधिकारी नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गर्नुभएका व्यक्तित्व हुन् । प्यासी उपनामले परिचित अधिकारी कम्युनिष्ट पार्टीमा आबद्ध भएपछि उनले गाउँगाउँमा जनतालाई पञ्चायती शासन व्यवस्थाका विरुद्धमा जागरुक बनाउँदै वर्गीय आचरणअनुसार जाली फटाहाहरुको तमसुक च्यात्ने काममा सक्रियता देखाउँदै आफूलाई आम जनताका पक्षमा समर्पित गरेका थिए ।

विसं २०४३ मा लोकप्रिय मतका साथ उनी कास्कीबाट राष्ट्रिय पञ्चायतको सदस्य तथा २०४८ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०६४ मा पार्टीका केन्द्रीय लेखा आयोगको सदस्य तथा विसं २०६८ मा केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा निर्वाचित भएका प्रदेश प्रमुख अधिकारी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपाको स्थायी कमिटी सदस्य हुन् ।

प्रदेश नं ३ को प्रदेश प्रमुखमा नियुक्त प्रसाईं २०२७ सालमै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनी प्रधानमन्त्री केपी ओली, सिपी मैनाली लगायतको समकालीन नेता हुन् ।

विसं २०५४ मा उनी जिल्ला विकास समिति झापाको उपसभापतिमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । उनी २०७४ मा तत्कालीन नेकपा एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए ।

बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् । तत्कालीन अन्तरिम व्यवस्थापिका सदस्य र विसं २०६४ को संविधानसभा सदस्यसमेत रहनुभएका परियार नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धकालीन नेता हुन् ।

कोहलपुर नगरपालिका–१२, निबुवाका स्थायी बासिन्दा परियार बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेताका रुपमा स्थापित हुन् । तत्कालीन माओवादीको सचिवालय सदस्यसम्म रहनुभएका परियार तत्कालीन नेकपा माओवादी विभाजिन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लागेका थिए । नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा समेत सहभागी हुनुभएका परियार सो समूह परित्याग गरी साविक माओवादी केन्द्रमा फर्केका थिए । दलित अगुवा तथा राजनीतिककर्मी परियारको नियुक्तिले दलित आन्दोलनलाई समेत न्याय गरेको प्रतिक्रिया आएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका पन्त राजनीतिक कार्यकर्ता हुन् । वेपत्ता पारिएका नागरिकको परिवारका तर्फबाट सशस्त्र द्वन्द्वका समयमा बेपत्ता नागरिकको खोजबिनका लागि पैरवी गर्दै आएकी पन्त तत्कालीन नेकपा माओवादी केन्द्रको नेताका रुपमा क्रियाशील थिइन् । राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादीका कार्यकर्ता ज्ञानेन्द्र त्रिपाठीकी पत्नीसमेत हुन् ।

प्रदेश नं ५ को प्रदेश प्रमुखमा नियुक्त यादव नेकपा भित्र सादगी नेताका रुपमा परिचित छन् । लामो समय शिक्षण पेशामा रहेका यादव विसं २०४८ को चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । विसं २०७३ मा तत्कालीन नेकपा एमालेले गरेको पूर्व–पश्चिम जागरण अभियानका क्रममा झापामा स्थायी समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।

डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई राजनीतिक कर्मथलो बनाएका कलौनी पुराना वामपन्थी नेता हुन् । उनी कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । साविक एमालेको जिल्लादेखि केन्द्रीय कमिटीको जिम्मेवारीसमेत सम्हालेका कलौनी विभिन्न समयमा भएको निर्वाचनमा उम्मेदवार बन्नुभए पनि विजयी भने भएनन् ।

उनी विसं २०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थियो भने विसं २०५६ मा बैतडी र विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट उम्मेदवार भएका थिए । रासस

Share News