
काठमाडौँ । उपभोक्ताहरुले बजारमा सामान खरिद गर्दा व्यापारीहरुले अनियमितता र कालोबजार गरेको पाइए सिधै एप्स मार्फत गुनासो गर्न सक्ने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ‘उपभोक्ता गुनासो एप्स’ कार्यान्वयन प्रारम्भ गरेको छ । एप्स कार्यान्वयनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले शुक्रबार एक समारोहका बीच गरेका हुन् ।
उपभोक्ताहरुको अधिकार संरक्षण, विभागलाई उपभोक्ताको अधिकार संरक्षणको कार्यमा सक्रिय, पारदर्शी र जिम्मेवार वनाउन तथा व्यवसायीलाई उपभोक्तामुखी बन्न र बजारलाई स्वच्छ, पारदर्शी बनाउन उपभोक्ता गुनासो एप्स कार्यान्वयन प्रारम्भ गरिएको हो ।
एप्स मार्फत कसरी गर्ने गुनासो ?
उपभोक्ताले आफ्नो मोबाइलमा उपभोक्ता गुनासो एप्स प्रयोगका लागि डाउनलोड गर्नु पर्ने र सो एप्सबाट विभागमा गुनासो लेखेर पठाउन सकिने छ । गुनासोको सम्बोधन भएको वा हुन नसकेको सूचना प्राप्त हुने प्रणालीले गर्दा बिना झन्झट गुनासो गर्न र सोको सम्बोधन समयमै हुन नसके विभागलाई घच्घच्याउन सकिने छ ।
विभागले उपभोक्ताहरुबाट पठाइएका गुनासो प्राप्त गरेपछि अनुगमन वा निरीक्षण गरेर वा सामान्य बुझेर भए/गरेको कारवाहीका बारेमा उपभोक्तलाई सूचना पठाउने छ । ती गुनासाहरु के कसरी सम्बोधन वा फछ्र्यौट भए भन्ने कुरा स्वतः अभिलेख रहने हुँदा सो एप्सको प्रयोगबाट विभागको काम पारदर्शी देखिने जनाइएको छ ।
उपभोक्ता गुनासो एप्सको कार्यान्वयनले गर्दा गुनासो संख्या बढ्ने र सोही अनुसारको कारवाहीका लागि विभाग थप सक्रिय बन्ने कारण व्यवसायीहरुको क्रियाकलाप तथा बजार क्रमशः स्वच्छ र उपभोक्तामुखी बन्दै जाने कार्यमा सघाउ पुग्नेछ ।
३ महिनामा ४७ लाख जरिवाना संकलन, ४६ वटाको कारोबार रोक्का
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आव २०७५/७६ को साउन महिनादेखि कात्तिक ७ गतेसम्म बजार अनुगमनका क्रममा ४७ लाख जरिवाना रकम संकलन गरेको छ । विभागले यो अवधिमा ६४४ वटा पसलमा अनुगमन गरिएको र अनियमितता गर्ने २४५ वटालाई कारवाही गरी जरिवाना संकलन गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा अनियमिता गर्ने १२३ जनालाई स्पष्टीकरण सोधिएको १९९ जनालाई सुधारका लागि निर्देशन दिएको, ११ वटा नमूना परीक्षणका लागि लिएको, ४६ वटाको कारोबार रोक्का गरिएको, २ वटा अनुसन्धानको क्रममा रहेको र रु. ३५८०/– बराबरको खाद्य सामाग्री नष्ट गरिएको जनाएको छ ।
चालु आवको शुरु देखि नै उपत्यका भित्र र बाहिर समेत तीज दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी मुख्य गरी तरकारी तथा फलफूल, खसीबोका तथा मासु, खाद्यान्य, खानेपानी, होटल रेष्टुरेण्ट(पानीपुरी समेत), लत्ता कपडा, विद्युतीय सामान, भाइमसला, फूलमाला जस्ता विषयगत क्षेत्रतर्फ बजार अनुगमनलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।