काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । असार महिना बैंकहरूको प्राथमिकता कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रीत हुने र एक प्रतिशत प्रोभिजनका कारण प्राथमिकतामा नपरेको नेपाल बैंकर्स एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।
‘कर्जा प्रवाह नै रोक्ने त होइन, उनले भने ‘यद्यपी हाम्रो प्राथमिकता भने रिकभरिमा हुन्छ ।’ राष्ट्र बैंकले असल कर्जामा एक प्रतिशत प्रोभिजन राख्नु पर्ने व्यवस्था गरेको छ ।
असारमा कर्जा प्रवाह गर्दा राख्नु पर्ने प्रोभिजनले गर्दा हाम्रो ध्यान कर्जा असुली र वित्तीय विवरणमा हुने ढुंगानाले बताए । आर्थिक वर्षको अन्त्यमा प्राय: बैक तथा वित्तीय संस्थाको ध्यान कर्जा प्रवाहमा भन्द पनि असुलीमा बढी हुने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । ‘हाम्रो टिम नै यो महिनामा असुलीमा केन्द्रीत हुन्छ,’ उनले भने ‘हामी यो महिनामा बढीभन्दा बढी निक्षेप संकलन गर्नेतिर लाग्छौं ।’ अर्यालका अनुसार असार निक्षेप संकलन गर्ने महिना हो भने साउन आक्रमक कर्जा प्रभाव गर्ने महिना हो ।
वित्तीय बजारमा जेठदेखि नै लगानी योग्य पुँजी केही सहज भएपनि ठूला र नयाँ परियोजनामा लगानी गर्ने सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए । ‘साना र कर्जा प्रवाह गर्न सम्झौता गरिएका परियोजनलाई मात्र केही कर्जा दिइरहेका छौं,’ उनले भने ‘ हामी यो समयमा प्रोभिजनका कारण पनि त्यति कर्जा प्रवाह गर्ने सोचमा हुँदैनौ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) भुवन दाहालले बैंकहरू पछिल्लो समय केही सहज अवस्थामा भएपनि बैंकको ध्यान भने रिकभरीमा हुने बताए । ‘हाम्रो टिम नै यसमा केन्द्रीत हुन्छ,’ आर्थिक वर्षको अन्त्यमा यस वर्षमात्र होइन जहिले पनि यस्तै हो । कर्जा नै रोकेको अवस्था भने होइन ।’ यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले आगामी आवको योजना बनाउन समय खर्चने गरेको दाहालले बताए ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एक त बैंकहरू असारमा कर्जा प्रवाह गर्न त्यति उत्साहित हुँदैनन् भने अर्कोतर्फ बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन् । कर्जा तथा प्राथमिक पुँजी र निक्षेपको योग अनुपात(सीसीडी रेसियो) कसिएको छ । ८० प्रतिशतको हाराहारीमा रहेका छन्,’ उनले भने ‘धेरै बैंकको यो रेसियो ७८ प्रतिशतभन्दा माथि छ । विद्यमान व्यवस्थाअनुसार एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।
आज आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३२ खर्ब तीन अर्ब निक्षेप संकलन गरेका छन् भने २८ खर्ब ६८ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । जेठदेखि नै दैनिक चार अर्बको हाराहारीमा सरकारी खर्च भएपनि बैंकहरूले भने माग अनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।