काठमाडौं । नेपाल बायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा ३ अर्ब ८० करोड घोटाला भएको निष्कर्षसहित संसदिय उप समितिले पर्यटन मन्त्री रबिन्द्र अधिकारीसहित एक दर्जनलाई कारवाही सिफारिस गरेको छ । मंगलबार आधा रातसम्म चलेको उप समिति बैठकले जहाज खरिद प्रकरणमा ३ अर्ब ८० करोड रुपैंयाँ घोटाला भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदनमा पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने उल्लेख गरिएको उप समितिका एक सदस्यले जानकारी दिए । ‘महालेखाले भुक्तानी नदिनु भन्दा भन्दै अधिकारीले १६ अर्ब भुक्तानी गर्न दिएका छन्, संसदिय समितिमा पनि गलत सूचना दिएकाले उनलाई पनि कारवाही सिफारिस गरेका हौं’, श्रोतले भन्यो ।
मन्त्री अधिकारी सहित पूर्वमन्त्रीहरु जिवन बहादुर शाही, जितेन्द्र नारायण देवलाई पनि कारवाही गर्न भनिएको छ । अधिकारीका पालमा १६ अर्ब भुक्तानी भएको थियो भने देवका पालामा ८ अर्ब र शाहीका पालामा एक अर्ब रकम भुक्तानी गरिएको थियो । तत्कालिन पर्यटन सचिव कृष्ण देवकोटा, शंकर प्रसाद अधिकारी, महेश्वर न्यौपानेलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।
बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य अभियुक्त करार गर्दै उप समितिले तत्काल बर्खास्त गरि कारवाही अघि बढाउन भनेको छ ।