
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकमा खाता हुने ग्राहकले अब शेयर कारोबारका लागि ब्रोकर कहाँ जानै नपर्ने भएको छ ।
नेप्सेले आफ्नो सिस्टममा ती बैंकलाई एकीकृत गरेसँगै आइतबारदेखि नै अनलाइन कारोबार गर्नसक्ने व्यवस्था मिलाएको जनाएको छ । योसँगै नेप्सेको कारोबार प्रणाली पूर्ण स्वचालित बनेको छ ।
बैंक इन्ट्रिगेसनसँगै मंगलबार नेप्सेले विज्ञप्ती जारी लगानीकर्ताहरुलाई यसको व्यवस्थाबारे थप प्रष्ट पारेको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीद्धारा जारी गरिएको विज्ञप्तीमा अनलाइन कारोबार गर्नेलाई एउटा डिम्याट खाताको लागि एउटै खाताको मात्र प्रयोग गर्न, ब्रोकरसँग सम्झौता गरेर युजरनेम र पासवर्ड लिई आवश्यक धरौटी बुझाउन र ऋण धितोमा रहेको शेयर विक्री नगर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।
साथै नेप्सेले निकट भविष्यमै विद्युतीय हस्तान्तरण गर्न सक्ने सबै बैंकबाट राफसाफको व्यवस्था गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दै अनलाइनमार्फत् कारोबार गर्न नचाहने लगानीकर्ताका लागि ब्रोकर कार्यालयमा फोन गरेर अर्डर टिपाउने यसअघिको व्यवस्था कायमै रहेको समेत जनाएको छ ।
यसका लागि युजरनेम र पासवर्ड लिएर कारोबार गरेकाहरुले समेत फेरि म्यानुअल सिस्टमबाट कारोबार गर्न चाहेमा त्यो समेत उपलब्ध हुनेछ ।
हेर्नुहाेस् नेप्सेकाे विज्ञप्तीकाे पूर्ण पाठ
