
काठमाण्डौ । प्रतिनिधि सभा अन्तरगतको लेखा समितिको बैठकमा मंगलबार वाइड बडी बिमान खरिद प्रकरणका बारेमा छलफल भएको छ । छलफलमा पर्यटन मन्त्रालयका सचिव सहित मन्त्री रबीन्द्र अधिकारी उपस्थित भएका थिए ।
वाइड बडी खरिदमा भएको अनियमितताबारे बैठकमा साँसदहरुले कुरा उठाएका थिए । जवाफमा मन्त्री अधिकारीले बिमान खरिद प्रक्रियामा भएको अनियमितताको बारेमा आफूलाई थाहा नभएको बताए । उनले भने–छानबीन गर्नुस्, दोषी पाइए कारवाही गर्छौँ ।
बिमान खरिद प्रक्रियामा साँच्चै अनियमितता भएकै हो कि, हल्ला मात्र हो, सत्यतथ्य पत्ता लगाउनुस्, दोषीलाई कारवाही गर्छौँ–मन्त्री अधिकारीले समितिको बैठकमा भने । मन्त्री अधिकारीले भने–वाइड बडीको स्वामित्व नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष कै छ, उनीहरुको अनुमति बिना बेच्न वा भाडामा लगाउन पाइदैन ।
अबको १ वर्षमा नेपाल एयरलाइन्स नाफामा जाने मन्त्री अधिकारीको भनाई थियो । नेपाल एयरलाइन्सलाई युरोपियन युनियनले कालो सूचिमा राख्नु न्यायोचित होइन, कालो सूचिबाट हटाउन पहल भइरहेको उनले बताए । केही समय भित्र नेपाली बिमानले जापानमा उडान भर्ने कुरापनि मन्त्री अधिकारीले जानकारी दिए ।
बैठकमा उपस्थित पर्यटन मन्त्रालयका मन्त्रालयका सचिव कृष्ण देवकोटाले जहाजको दर्ता र हाइफ्लाइटबारे आफूलाई थाहा नभएको बताए । यसबारेमा नेपाल एयरलाइन्सका अध्यक्ष र प्रबन्ध निर्देशनलाई सोध्न आग्रह गरे ।