मालपोतका कर्मचारी कै कारण सर्वसाधारणको जग्गा असुरक्षित, फोटो फेरेर यसरी भयो किनबेच

<p>काठमाडौं । मालपोतका कर्मचारीबाट सर्वसाधारण व्यक्तिको जग्गा दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । एक व्यक्तिको नाममा रहेको जग्गा थाहै नदिई अर्को व्यक्तिको नाममा हक हस्तान्तरण गर्न मालपोत कार्यालयक उच्च पदस्त कर्मचारीहरु नै लागि पर्ने गरेका छन् । चन्दनकृष्ण कायस्थले जब बुठानिलकण्ठ नगरपालिका सविकको विष्णु गाविस वडा नं ७ मा रहेको २ रोपनी ८ आना जग्गा [&hellip;]</p>

काठमाडौं । मालपोतका कर्मचारीबाट सर्वसाधारण व्यक्तिको जग्गा दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । एक व्यक्तिको नाममा रहेको जग्गा थाहै नदिई अर्को व्यक्तिको नाममा हक हस्तान्तरण गर्न मालपोत कार्यालयक उच्च पदस्त कर्मचारीहरु नै लागि पर्ने गरेका छन् ।

चन्दनकृष्ण कायस्थले जब बुठानिलकण्ठ नगरपालिका सविकको विष्णु गाविस वडा नं ७ मा रहेको २ रोपनी ८ आना जग्गा आफ्नो नाममा नरहेको थाहा पाए, तब उनी झस्किए । त्यसपछि उनले अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा उजुरी गरे ।

आयोगले जग्गा अनियमितताबारे अध्ययन गर्दा मालपोत कार्यालय चावहिलका ६ जना कर्मचारीहरुले ढड्डामा रहेको कायस्थको फोटो झिकी राजु थापा मगरको फोटो टाँसेको खुल्न आएको छ ।

मिलेमतो गर्ने कर्मचारीहरुमा अधिकृत खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुना कमारी श्रेष्ठ र कार्यालय सहयोगी हरि खड्का रहेका छन् ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार मगरको टोलीले बुढानिलकण्ठ नगरपालिका ७ कित्ता नं ३२३, ३२५ र ३२९ को नक्कली लालपूर्जा समेत निर्माण गरेका थिए । जग्गा नामसारी गर्न राजु थापा मगरले नै नाइकेको भूमिका खेलेको पुष्टी आयोगले गरेको छ ।

मगरले सानेभाई श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल सिं तामाङ, धुब्रप्रसाद भट्टराई र श्रीकृष्ण देवकोटाको समूह बनाई योजना बनाएका थिए ।

मगरले कर्मचारीहरुलाई समेत ठूलो आर्थिक प्रलोभन देखाएका थिए । सबै प्रक्रिया पूरा गरेर मगरले जग्गा बिक्रीका लागि प्रक्रिया सुरु गरेका थिए । जग्गाको नामसारी गर्न कर्मचारी मात्र नभएर बैंक तथा सहकारी समेतको संग्लग्नता रहेको देखिएको छ ।

मिलेमतोको आरोपमा आयोगले अर्थ बचत तथा बचत ऋण सहकारी संस्था लिमिटेड सुन्धाराका निर्देशक नवदुर्गाप्रसाद ढुङगेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापा र सानिमा बैंक एकान्तकुना ललितपुरका ट्रेलर सनिश सापकोटालाई पक्राउ गरेको छ ।

जग्गा अनियमिताका दोषीमध्ये केहि व्यक्ति पक्राउ गर्न बाँकी रहेको प्रवक्ता दंगालले जानकारी दिए । आयोगले उनीहरुको खोजी कार्य समेत गरिरहेको छ ।

१६ जना विरुद्ध मुद्दा दर्ता
यता, आयोगले भ्रष्ट्राचार अभियोगमा १६ जना विरुद्ध नै मुद्दा दायर गरेको छ । उनीहरुबाट करिब ६० करोड माग दाबी गरिएको छ । उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

Share News