
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ ।
आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन बुझाएका हुन् ।
आयोगले आर्थिक वर्ष २०७४\०७५ मा ४२६ जनाबाट ४० करोड ५५ लाख ५९ हजार रुपैंया बिगो उठाएको छ । यस्तै जमिनतर्फ ४१० बिघा १३ कठ्ठा १२ धुर जमिन सरकारको नाममा कायम गरेको हो । त्यसैगरी ५३ रोपनी ६ जना जमिन सरकारको नाममा कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
अख्तियारमा सबैभन्दा बढी शिक्षा क्षेत्रमा उजुरी परेको छ । प्रतिवेदन अनुसार शिक्षा क्षेत्रमा १८.३२ प्रतिशत, संघीय मामिलामा १८.०२, भूमिमा ६.४८, वनमा ४.४८, प्रशासनमा ४.१३, स्वास्थ्यमा ४.३७, गृहमा ४.१३, यातायातमा २.२८, अर्थमा २.५९ र अन्य क्षेत्रका ३८.८ प्रतिशत उजुरी परेको थियो । गत आर्थिक वर्षमा आयोगमा १३ हजार १३, मातहतको कार्यालयहरुमा गरी कुल १९ हजार ४८८ उजुरीहरु परेका थिए ।
