काठमाडौं । हिमालयन हाइड्रो एक्स्पाेको दोस्रो संस्करण आगामी माघ ४ देखि ६ गतेसम्म हुने भएकोे छ । एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागेका हो ।
जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेका छन् । एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इपानले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन्। नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् ।
एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रो सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ । हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिनेछ । एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने आयोजककाे विश्वास छ ।