
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा र गभर्नर डा चिरञ्जीवि नेपालले व्याजदर निर्धारणको क्रममा गलत अभ्यास भईरहेको भन्दै बैंकर्सहरुले कडा आलोचना गरेका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको ३२ साधारणसभामालाई सम्बोधन गर्दै उनीहरुले बैंकर्सहरुको आलोचनासहित सुधारको लागि केहि सुझाव दिए ।
अर्थमन्त्री खतिवडाले व्याजदर निर्धारण नगर्न बैंकर्स संघलाई सुझाव दिए । ‘बैंकर्स संघले कहिले निक्षेपको, कहिले कर्जाको व्याज तोक्ने गरेको सुनिन्छ । कहिले सहमति भयो भन्ने सुनिन्छ कहिले बन्दन टुट्यो रे भयो भन्ने समाचार आउँछ । संघले यस्तो काम नगरोस्, यो राम्रो काम होइन’ अर्थमन्त्री खतिवडाले भने–‘प्रतिस्पर्धा कानुन पनि छ हाम्रो मुलुकमा । मूल्य कार्टेलिङ हुँदा प्रचलित कानुन र प्रतिस्पर्धाको सिद्धान्तलाई चुनौति दिए जस्तो हुन्छ ।’
उनले बैकर्सहरुलाई छाडा नहुन पनि आग्रह गरे । ‘जीऊमा कपडा कोचेर अग्लो पनि होइदैन, मोटो पनि होइदैन । प्राकृतिक ग्रोथ पनि चाहिन्छ’ मन्त्रीले खतिवडाले भने–‘अस्वभाविक रुपमा ठूलो हुने कोसिस बैंकिङ क्षेत्रका साथीहरुले नगरिदिए हुन्थ्यो ।’
बैकिङ क्षेत्रको प्राकृतिक ग्रोथलाई सरकारले सहयोग गर्ने उनले बताए । अर्थतन्त्रको जुन क्षेत्रमा पोषण पुगेको छैन, कुपोषण भएको छ, त्यस क्षेत्रमा लगानी बढाउने उनले बैकर्सहरुलाई निर्देशन दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल पनि निक्षेपको व्याज अस्वभाविक रुपमा वृद्धि नगर्न बैंकर्सहरुलाई सुझाव दिए ।
‘व्याजदरमा प्रतिस्पर्धा गरेर तपाईहरुले गलत गरिरहनु भएको छ । राष्ट्र बैंकलाई जिस्क्याएको हो कि ?’ आक्रामक शैलीमा भने–‘जसले बढी व्याज दिएर निक्षेप लिएको छ, उसले बैंकलाई जोखिममा चलाएको हुन्छ । उसले पब्लिकको पैसा दुरुपयोग गर्न खोजेको मानिन्छ ।’
राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन लगेको उनले बताए । ‘तपाईहरुले आश्चर्य नमाने हुन्छ, राष्ट्र बैंकले तुरुन्तै एक्सन लिन्छ’ गभर्नरले भने–म यो भन्दा बढी बोल्दिन । सीओसासावहरुले कुरा बुझिहाल्नुहुन्छ ।’
मनोवल नगिरेको दावी
लगानीकर्ताको मनोबल गिरेको रिपोर्टहरु सार्वजनिक भईरहेको बेला अर्थमन्त्रीले त्यसको प्रतिवाद गरेका छन् । ‘मुलुकले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न लागेको छ । यस वर्ष कृषि क्षेत्रको उत्पादन ५ प्रतिशत हुँदैछ । औद्योगिक क्षेत्रको उत्पादन १० प्रतिशतले वृद्धि हुँदैछ । सेवा क्षेत्रको उत्पादन त्यसको वरिपरि छ । बैकिङ क्षेत्रको नाफा गतवर्ष भन्दा यस वर्ष बढी हुँदैछ ।
विदेशी पर्यटकले होटलहरु भरिभराउ भएका छन् । यस वर्ष १० लाख भन्दा बढी पर्यटक आउँदैछन् । दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक ल्याउने योजना छ’ उनले भने–‘यस्तो बेलामा लगानीकर्ताको मनोवल कसरी घट्न सक्छ ? किन तल लैजाने हामीले’
अर्थतन्त्रमा दुई वटा मात्र समस्या रहेको बताए । ‘बैदेशिक व्यापार घाटा बढेको छ । हामीले उपभोग्य बस्तुको आयात नियन्त्रण गर्न जरुरी छ । यो एउटा समस्या भयो । अर्को हाम्रो बचत क्षमता कम छ, लगानी बढाउने सरकारी नीति नै हो । बचत भन्दा लगानी बढी हुँदा बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमी भएको छ । त्यसलाई पूर्ति गर्न विदेशबाट पुँजी ल्याउने प्रयास भईरहेको छ’ उनले भने ।