काठमाडौं । आगामी ६७ दिनभित्र मेलम्चीको पानी सुन्दरीजलमा आईपुग्ने भएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले आगामी ६० दिनभित्र मेलम्चीको पानी सुरुङमा हाल्ने र त्यसको ७ दिनभित्र सुन्दरीजलको पानी ट्यांकीमा आईसक्ने घोषणा गरे ।
‘ढुक्क हुनुस्, ६० दिनभित्र मेलम्चीको पानी सुरुङमा हालिनेछ, त्यसको एक हप्ताभित्र त्यो पानी सुन्दरीजलमा आउनेछ अनि परिक्षण गरेर धारामा वितरण गर्नेछौं’, संसदको विकास तथा प्रविधि समितिमा सचिव ठाकुरले भने । उनले २५ किलोमिटर सुरुङ फिनिसिङको काम सम्पन्न भैसकेको जानकारी पनि दिए ।
उनले ठेकेदार कम्पनी सीएमसीलाई ३६ करोड भुक्तानी नगरिए काम रोक्ने चेतावनी दिएको जानकारी पनि समितिमा गराएका थिए । ‘हामीले पैसा दिन मिल्ने अवस्था छैन तर कम्पनीले ३६ करोड नदिए काम रोक्ने चेतावनी दिएको छ, धरौटीबाट कटौती हुने गरि पैसा दिनैपर्ने बाध्यतामा हामी छौं’, ठाकुरले भने । उनले ३६ करोडका तगारो नहटाउँदासम्म काठमाडौं बासीका धारामा पानी ल्याउन सहज नभएको बताएका थिए ।
ठाकुरले भने ‘हामीले सबै शक्ति केन्द्रित गरेर आयोजनाको काम गरिरहेका छौं । अहिले दैनिक ९० मिटरसम्म फिनिसिङको काम भैरहेको छ, सोहि गतिलाई कायम राख्न सकिए अबको ४० दिनमा टनेल फिनिसिङ हुन्छ, यसपछिको चरणमा हामी टनेलमा पानी छाड्नेछौं ।’ मेलम्चीकाे पानी डब्लुएचअाे गुणतस्तरकाे हुनेछ । ठेकेदार कम्पनी सिएमसीलाई सहायक ठेकेदारले बिश्वास नगरेको पनि बैठकमा जानकारी गराइएको थियो ।
बैठकमा सांसदहरुले मेलम्ची जनताका लागि हाँसोको बिषय बनिसकेको भन्दै अब पनि तोकिएको मितीमा पानी नआए सम्बन्धीत अधिकारीहरुलाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए ।