काठमाडौं । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब ३९ अर्ब ३२ करोड विकास सहायता गर्ने भएको छ ।
बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।
त्यसैगरी बैंकले एक करोड ५० लाख अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान रकम प्रकोप सहनशील विद्यालय निर्माण परियोजनामा खर्च हुने भएको छ ।
विकास सहायतासम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गरेका छन् । सासेक राजमार्ग सुधार परियोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गको पूर्वमा रहेको कमला कञ्चनपुर खण्डको करीब ८७ किलोमिटर सडक सुधार गरी फराकिलो बनाउने, सडक सुरक्षामा सुधार गर्नेछ ।
प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाअन्तर्गत भूकम्पबाट असुरक्षित बनेका विद्यालयलाई सुदृढ एवं सुरक्षित तुल्याइनेछ । नेपालको पूर्वाधारलगायत आर्थिक–सामाजिक क्षेत्रको विकासका निम्ति बैंकले विगतदेखि गरिरहेको सहयोगको निरन्तरता हो ।
त्यस अवसरमा सचिव खनालले ऋण तथा अनुदान सहायताका माध्यमबाट नेपालको सामाजिक–आर्थिक विकासमा बैंकले सघाएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्दै परियोजना कार्यान्वयन गर्ने निकायलाई निर्धारित समयभित्रै काम पूरा गर्न इमान्दार भएर लाग्नमा जोड् दिएका छन् ।
देशीय निर्देशक खामुदखानोभले नेपालको आर्थिक विकासमा सासेक परियोजनाबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्दै त्यसले राष्ट्रिय एवं क्षेत्रीय सम्पर्क विस्तारमा टेवा पुग्ने बताएका छन् । रासस