नोभेम्बर १४ देखि नयाँदिल्लीमा अन्तर्राष्ट्रिय ट्रेड फेयर हुँदै, निःशुल्क स्टल बुक गर्न नेपाली उत्पादनकर्तालाई आह्वान

<p>काठमाडौं । नेपाली व्यवसायीहरु समेतको सहभागितामा आगामी कात्तिक २८ (नोभेम्बर १४ तारिख) देखि भारतको राजधानी नयाँदिल्लीमा ‘इण्डिया इन्टरनेशनल ट्रेड फेयर’ हुने भएको छ । भारतीय व्यापार प्रवर्द्धन संगठन (आईटीपीओ)ले आयोजना गर्ने उक्त मेला मंसिर ११ (नोभम्बर २८ तारिख) सम्म सञ्चालन हुनेछ । नयाँदिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने उक्त मेलामा निःशुल्क सहभागिताका लागि नेपाली उत्पादनकर्ता तथा [&hellip;]</p>

काठमाडौं । नेपाली व्यवसायीहरु समेतको सहभागितामा आगामी कात्तिक २८ (नोभेम्बर १४ तारिख) देखि भारतको राजधानी नयाँदिल्लीमा ‘इण्डिया इन्टरनेशनल ट्रेड फेयर’ हुने भएको छ । भारतीय व्यापार प्रवर्द्धन संगठन (आईटीपीओ)ले आयोजना गर्ने उक्त मेला मंसिर ११ (नोभम्बर २८ तारिख) सम्म सञ्चालन हुनेछ ।

नयाँदिल्लीस्थित प्रगति मैदानमा आयोजना हुने उक्त मेलामा निःशुल्क सहभागिताका लागि नेपाली उत्पादनकर्ता तथा निर्यातकर्तालाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आह्वान गरेको छ । उक्त मेलामा सहभागिता जनाउन चाहने नेपाली व्यवसायीले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा सोमबारसम्म निवेदन दिन सक्नेछन् । आवेदन विद्युतीय माध्यमबाट समेत दिन सकिने केन्द्रले जनाएको छ ।

स्टलमा सहभागी हुन भारतमा निर्यातयोग्य वस्तु हुनुपर्ने र उच्च सम्भावनायुक्त वस्तुहरुलाई स्टलमा सहभागी हुन प्रोत्साहित गरिने केन्द्रले जनाएको छ । स्टलहरु निःशुल्क गर्नुबाहेक अन्य सम्पूर्ण खर्च भने व्यवसायी स्वयंले व्यहोर्नुपर्ने केन्द्रले जनाएको छ । नेपाली व्यवसायीहरुले भारतस्थित नेपाली दुतावासको समन्वयमा व्यवसायीहरुले मेलामा सहभागिता जनाउनेछन् ।

सन् १९९० देखि हरेक वर्ष हुँदै आएको मेलालाई ‘बी टू बी’ र ‘बी टू सी’ मोडलमा आयोजना हुने भारतीय उपमहाद्धिपकै सबैभन्दा ठूलो एकीकृत मेलाको रुपमा लिइन्छ । व्यापारिक सामाजिक सांस्कृतिक एवं शैक्षिक आयामहरुलाई मेलाले समेट्ने विश्वास लिइएको आयोजकले जनाएको छ । मेलामा सहकारी उत्पादन, गार्मेन्ट, टेक्स्टाइल, घरेलु उपकरण, प्रशोधित खाना, पेय पदार्थ, औषधि, सौन्दर्य प्रशाधनका सामानहरु, फर्निचर तथा इञ्जिनियरिङ उत्पादनहरुको प्रदर्शनी हुनेछ ।

Share News