
काठमाडौं । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (तेस्रो आईपीओ) दशैं लगतै निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित दोलखावासीलाई निष्कासन गरेको बाँडफाँडअघि नै सर्वसाधारणलाई आईपीओ ल्याउने तयारी गरिएको अपर तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । स्थानीयबासिन्दालाई निष्कासन गरेको आईपीओ बाँडफाँडमा ढिलाइ हुने भन्दै उनले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर दशैंअघि नै ल्याउने तयारी भइरहेको जानकारी दिए ।
स्थानीयबासिन्दालाई बाँडफाँडबीचको समयलाई उपयोग गर्न लागिएको उनको भनाई छ । तामाकोसीले निष्कासन गर्न लागेको यो अन्तिम आईपीओ हो ।स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ । करिब ३ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत निष्कासन गरेको हो ।
आयोजनाले यसअघि नै सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।
तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउँदो असारदेखि मात्र बिजुली उत्पादन हुनेछ । लट २ को ठेकेदारले ढिलाइ गर्दा आयोजना पछि धकेलिएको हो । असारमा परीक्षणका रुपमा बिजुली उत्पादन थाल्ने लक्ष्य लिइएको श्रेष्ठले जानकारी दिए । अन्य लटको काम लगभग सकिएको र लट २ को हाइड्रोमेकानिकलको ठुलो काम मात्र बाँकी छ ।