काठमाडौं । एनएमबी बैंकको सेयरमा लगानीकर्ता लोभिएका छन् । गत साता एनएमबीको सेयर सबै भन्दा धेरै कारोबार भएको छ । कारोबारसंगै बैंकको सेयर मूल्यमा पनि बढेको छ । गतसाता एनएमबीको १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा पनि एनएमबी नै अग्रस्थानमा छ ।

एनएमबीको ५ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ । बैंकको थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य बढ्दै गएको छ । बिहीबारसम्म बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६१ रुपैयाँ पुगेको छ ।
सेयर मूल्य निरन्तर बढेपछि एफपीओ खरिद गर्ने लगानीकर्ता मालमाल भएका छन् । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओ खरिद गर्ने लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाइसकेका छन् । बजार बढेपछि एफपीओको लगानीकर्ताले २८ रुपैयाँ बढी मूल्य पाएका छन् ।
बैंकको वित्तीय अवस्था मजवुत भएकाले लगानीकर्ताको विश्वास बढेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी बताउछन् । विगतको वर्षभन्दा लगानीकर्तालाई बढी प्रतिफल दिन सक्ने अवस्थामा बैंक पुगेको उनको भनाई छ । बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) घट्दै गएको र संचित कोषको आकार बढेकाले आउदो वर्ष लगानीकर्तालाई प्रतिफल दिने क्षमता बढेको उनको भनाई छ ।
एनएमबीले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २३.५५ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ५६ लाख रुपैयाँ नाफा बढाएको छ । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३१ रुपैयाँ २६ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ईपीएस २७ रुपैयाँ २४ पैसा थियो ।
यो साता धितोपत्र बजारमा २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको १ करोड २ लाख ५५ हजार ६८० कित्ता सेयर २ अर्ब १० करोड १५ लाख ६५ हजारमा खरिद बिक्री भएका छन् ।