काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (तेस्रो आईपीओ) कात्तिकको अन्तिम सातामा आउने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गरेको दोस्रो आईपीओको बाँडफाँडमा केही समय लाग्ने भएपछि तेस्रो आईपीओ कात्तिक अन्तिममा धकेलिएको अपरतामाकोसीका प्रवत्ता गणेश न्यौपानेले बताए । उनका अनुसार दोस्रो आईपीओ बाँडफाँड गर्न ४० दिन समय लाग्ने र त्यसमा पनि नभए थप १५ दिन समय थप छ । दोस्रो आईपीमा तीन गुणा बढीको आवेदन परेको छ ।
प्रवक्ता न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा ३ गुणा बढी आवेदन परेको छ । २ लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । २ लाख ८२ हजारले आवेदन दिन पाउने भएपनि ७५ प्रतिशतले मात्र आईपीओ भरेको उनले बताए । बाँकी २५ प्रतिशतले आईपीओ भर्न नचाहेको न्यौपानेको भनाई छ ।
स्थानीयबासिन्दाका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । करिव ३ अर्ब रुपैयाँ बराबबरको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत निष्कासन गरेको हो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म सेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई २४ प्रतिशत आईपीओ निष्कासन गरिसकेको छ । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत आईपीओ बिक्री भएपछि मात्रै कर्मचारीलाई ३ वर्षअघि निष्कासन गरिएको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्ने तयारी गरिएको हो ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।
आयोजनाको ९७ प्रतिशत काम सकियो
४५६ मेगावाटको माथिल्लो तामाकोसीको ९७ प्रतिशत काम सकिएको छ । अब आयोजनाको काम सक्न ३ प्रतिशत मात्र बाँकी छ । आउदो बैशाखदेखि तामाकोसीबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म सडक बिग्रिएकाले ठुला पाइल आपूर्ति गर्न समस्या भएको प्रवत्ता न्यौपानेले जानकारी दिए । ढुवानीमा भएको समस्याले आयोजनाको काम प्रभावित हुदै आएको उनको भनाई छ ।