काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्प पीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताएका छन्।अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा समन्वय समितिका प्रतिनिधिसँग आइतबार भेट गरी विगतमा जुन शर्तमा ऋण उपलब्ध गराइएको हो त्यसलाई निरन्तरता दिइने स्पष्टपारे।

नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई पत्राचार गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खतिवडाले पीडितले पनि नियमसङ्गतरुपमा कार्य पूरा गर्नुपर्नेमा जोड दिए ।
सांसद जीवनराम श्रेष्ठले पीडितले लिएको ऋणको ब्याजदर वृद्धि भए उनीहरुलाई थप पीडा हुने भन्दै पीडितलाई सरकारले विगतमा सुविधाका रुपमा उपलब्ध गराएको ऋणको ब्याजदर सम्झौता अवधिभर कायम गर्नुपर्ने बताए।
भूकम्पपछि सरकारले विभिन्न वाणिज्य बैंकमार्फत काठमाडौँ उपत्यकाभित्रका पीडितलाई उनीहरुको चल, अचल सम्पत्ति तथा आम्दानीको मूल्याङ्कन गरी १५ लाख देखि २५ लाख रुपैयाँसम्म ऋण ५ देखि १० वर्षभित्र २ प्रतिशत ब्याजमा उपलब्ध गराएको थियो ।
उपत्यका बाहिरका पीडितलाई सोही ब्याजदरमा १५ लाख रुपैयाँभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरिएको थियो । समितिका प्रतिनिधिले पुनःकर्जा नवीकरणमा पनि शुल्क मिनाहा गर्न माग गरेका थिए । रासस